स्वास्थ्य

नेपालमा फैलिंदै योग र साधना

काठमाडौं । नेपालमा पछिल्लो समय योग र साधनको व्यवसायीकरणले स्थान पाएको छ । काठमाडौं उपत्यका आसपासका क्षेत्रमा योग अभ्यासका लागि विभिन्न क्षेत्रबाट प्रतिष्ठान बनाउने काम भएको छ । हजारौंको संख्यामा योग सिक्ने विदेशी नेपाल आएका छन् । भक्तपुरको तेलकोटमा सञ्चालित रिक्रियसन सेन्टरका प्रमुख डा. चिन्तामणी गौतमले योग अभ्यासका लागि आफ्नो प्रतिष्ठानमा सयौं विदेशी आइरहेको बताएका छन् । यसले दर्जनौंलाई रोजगारी दिएको छ भने विदेशी पैसा स्वदेश भित्रिएको छ । भक्तपुरका विभिन्न ठाउँमा ससाना योग शिविरसमेत सञ्चालनमा छन् ।
नेपालमा रहेको भारतीय राजदूतावास काठमाडौंले राजदूत मञ्जिबसिंह पुरीको नेतृत्वमा सगरमाथाको फेदीमा योग अभ्यास गरेको छ । यसले नेपाललाई संसारभर चिनाउन मद्दत पुगेको छ । योग अभ्यासका लागि पुरीसहितको टोली सगरमाथाको फेदी पुगेको थियो । उनको योग अभ्यास गरिरहेको तस्वीर भाइरल बनेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि नेपाल भ्रमणका क्रममा पनि योग र साधनालाई जोड दिएका थिए । त्यसैले भारतीयहरुले नेपाललाई योग, साधना र ध्यानको केन्द्र मान्दै आएका छन् । काठमाडौंको ठमेल, पोखराको लेकसाइड, चितवनको सौराहा, बर्दियाको ठाकुरद्वारा लगायतका पर्यटकीय क्षेत्रमा योग अभ्यासले व्यवसायिकता पाउँदै गएको छ । योगमा विद्यावारिधी गरेका डा. गौतमले पछिल्लो समय योगलाई व्यावसायिक बनाएर करोडौंको लगानी भैरहेको बताएका छन् । योग अभ्यासका लागि अमेरिका, क्यानडा, फ्रान्स लगायत पश्चिमा देशका नागरिक बढी आउने गरेका उनको अनुभव छ । अहिले पनि सयौंले आफ्नो केन्द्रबाट योग अभ्यास गरिरहेको गौतमको भनाइ रहेको छ ।
नेपालबाट योग सिकेर गएपछि विदेशमा पनि नेपाली योगाको नाममा योग शिविर सञ्चालन हुने गरेको छ । हिमालयको देश भएकाले पनि नेपालको योगालाई संसारभर राम्रो मानिन्छ । भारतीय योग गुरु रामदेवका कारण संसारमा चर्चामा रहेको योगा भारतमा भने जीवन जिउने साधनको रुपमा बिकास गरेको छ । रामदेवका उत्तराधिकारी आचार्य बालकृष्ण पनि नेपालको स्याङ्जाका बासिन्दा भएकाले नेपालले उनीमार्फत पनि फाइदा लिनसक्नु पर्नेमा विज्ञको जोड रहेको छ ।
पछिल्लो समय शहरीया जीवनशैलीका कारण शहरबजारमा योगप्रति नेपाली नागरिक पनि आकर्षित हुन थालेका छन् । योग मात्र होइन विपश्यनामा समेत नागरिक आकर्षित भएका छन् । व्यस्त जीवन शैली, दौडधूप, जटिल प्रकृतिका रोगको सङ्क्रमण, मनोविकार र पारिवारिक समस्याले ग्रस्त मानवले शान्तिको बाटो अवलम्बन गर्न खोज्छ । शान्ति प्राप्तिका लागि दैनिक एक–डेढ घण्टा ध्यान गर्नु अपरिहार्य मात्र होइन यस्तो अभ्यासले काममा एकाग्रता, समस्याको शान्तिपूर्ण समाधान, क्षमता वृद्धि, कार्यकुशलता र सहिष्णुता जस्ता गुणको विकास हुने ध्यानका साधकहरू बताउँछन् ।
विभिन्न प्रकारका ध्यान साधनामध्ये विपश्यनामा वृद्धवृद्धा मात्र होइन आफ्नो क्षमता अभिवृद्धि र कार्यकुशलताका लागि प्रौढ र महाविद्यालय पढ्ने किशोरी–किशोरी र कर्मचारीका साथै थुप्रै विदेशीहरू सहभागी भएको देखिन्छ । काठमाडौँ महानगरपालिका मनमैजु निवासी ७३ वर्षीया नानीमायाँ महर्जन जीवनको उत्तरार्धमा आइसक्दा पनि सन्तुष्ट र खुशी देखिन्छन । गएको १५ वर्षको अवधिमा सात चोटि विपश्यनाका दश दिने शिविर र दुई चोटि सतिपठ्ठान (स्मृति प्रस्थान)का शिविरमा बसेकी उनी त्यसकै प्रभावले होला वृद्धावस्थामा पनि शारिरीक र मानसिक रूपले अझै तन्दुरुस्त र हँसिलो देखिन्छीन । चार छोरा बुहारी र १२ नातिनातिनीका साथमा उहाँले आरामदायी जीवनयापन गर्दै आएकी छन् ।
रोग, राग, द्वेष र क्लेशबाट मुक्त नानीमाया अहिले सम्मानित अभिभावकको प्रतीक बनेकी छन् भने सबै परिवार उनका सहयात्री बनेका छन् । ‘विपश्यना नगरेको भए म उहिल्यै मरिसक्ने थिएँ होला,’ चन्दागिरि नगरपालिका–११ सतुङ्गल निवासी सुवास महर्जन भन्छन्– ‘पहिला फर्निचरको काम गर्दा निकै तनाव हुन्थ्यो । घरमा र काम गर्ने ठाउँमा पनि विवाद भइरहने गरेका कारण गर्दैआएको कामबाट पनि विमुख हुनुपथ्र्यो ।’ आठौँ पटक दश दिने शिविरमा सहभागी भइसकेका उनी भन्छन्– ‘मैले अहिले हस्तकलाको काम गर्दैआएको छु । तनावमुक्त भएकैले होला दत्तचित्त भएर काममा लाग्छु, सन्तुष्टि पनि मिलेको छ । विगतका पीडा वा दुःखका कुराले अहिले कुनै असर पनि गर्दैन ।’
पारिवारिक जञ्जालबाट मुक्त भएर पुरानो बानेश्वरस्थित सन्त कबिर आश्रममा बस्दै आएका चन्दागिरि नगरपालिका–१ दहचोक निवासी ७७ वर्षीय बद्री थापाक्षेत्री भन्छन्– ‘मलाई विपश्यनाले एक्लो जीवन पनि सरल र आनन्ददायी बनाइदिएको छ ।’ आफूले छ पटक दशदिने शिविर र एक पटक सातदिने सतिपठ्ठान शिविरका साथै एक पटक धर्म सेवा (शिविरमा स्वयंसेवा) पनि गरिसकेको उनी बताउँछन् ।
ध्यान गर्न चाहनेहरू एक–दुई पटक मात्र होइन १०–१२ पटकसम्म पनि शिविरमा आई विपश्यना अभ्यासलाई पुनर्ताजगी गर्ने गर्छन् । बाह्रौँै पटकसम्म दश दिने तथा सात दिने शिविरमा सहभागी श्रीमहालक्ष्मी नगरपालिका–८ सानागाउँ निवासी ८२ वर्षीय धनबहादुर महर्जन र दश पटकसम्म दश दिने शिविरमा सहभागी कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीका ६८ वर्षीय विश्व खनाल यसका उदाहरण हुन् । अङ्ग्रेजी पात्रोअनुसार प्रत्येक महिनाको १ र १४ तारिखका दिन शिविर शुरु हुने विपश्यना ध्यान साधनामा अहिलेसम्म कति जनाले सहभागिता जनाइसकेका छन् ? तिनमा कति महिला र कति पुरुष छन् ? यी जिज्ञाशामा नेपाल विपश्यना केन्द्रले कुनै विवरण उपलब्ध गराउन चाहेन । शायद प्रचार–प्रसार आवश्यक नभएको ठानेर नै होला जानकारी नगराएको । तर, दुई वर्ष अघिको तथ्याङ्क केलाउँदा मुहानपोखरीस्थित धर्मशृङ्गमा अहिलेसम्म करीब ७० हजारभन्दा साधक–साधिका यस ध्यानमा सहभागी भइसके । त्यसमा झण्डै आधा–आधी विदेशी थिए ।
केन्द्रका अनुसार सन् २०१६ मा दुई हजार ५४१, २०१५ मा दुई हजार २८६ र २०१४ मा चार हजार नयाँ तथा पुराना साधक ध्यानमा सहभागी भएका थिए । सन् २०१७ र २०१८ मा तीन हजार जति थपिएको अनुमान गर्न सकिन्छ । भारत, चीन, जापान, बर्मा, श्रीलङ्का, अमेरिकालगायतका मुलुकहरुमा पनि विपश्यनाका सात दिवशीय, २० दिवशीय, ३० दिवशीय र ४५ दिवशीय शिविरहरु पनि सञ्चालन हुँदै आइरहेका छन् । शिविर अवधि सकिएपछि साधकले गर्ने दानबाटै यस्ता विपश्यना केन्द्रमा अर्को शिविर सञ्चालन हुँदै आएका छन् ।
शिविरमा धर्म दानको रूपमा धर्मसेवक भई सेवा गर्न आउने स्वदेशी तथा विदेशीको पनि कमी छैन । प्रत्येक शिविरमा साधकको रेखदेख, खान–पान, सफाइ, औषधिमूलो, प्रशासनिक व्यवस्थालगायत काममा झण्डै २५–३० धर्मसेवक÷धर्मसेविका सहभागी हुँदै आएका छन् । त्यस्तै दुई–दुई जना महिला र पुरुष आचार्य वा सहायक आचार्य पनि । आफ्नै दिदीबाट आठ वर्षअघि विपश्यनाबारे जानकारी पाएका स्वीडेनका डेनिस सुन्सन भन्छन्– ‘एक वर्ष अघि पञ्जाब गएको बेला त्यहीँ विपश्यना शिविरमा बसें । छ महिना अघि पुनः सिक्किममा दोस्रो शिविरमा बसेँ । यहाँ म धर्मसेवक भएर पनि बसिसकेको छु । पे्रमिका जोडी ओटारालाई पनि विपश्यना साधना गर्न लगाएको छु ।’
विपश्यना गर्दा रिसाउने बानी अन्त्य भएको छ, अहङ्कार हराएको छ, जे काम पनि गर्न सक्छु भन्ने मनोबल मिलेको । आफूहरुको भावी जीवन पनि सुखदायी हुनेछ भन्नेमा उनी विश्वस्त छन् । जापान र भारतका विभिन्न विपश्यना शिविरमा आठ पटक विपश्यना र नौ पटक धर्म सेवा गरेका जापानी नागरिक तारो सुबोटा अहिले फेरि धर्म सेवामा समर्पित छन । उनी भन्छन्– ‘पहिले मलाई पटक्कै पढ्न मन लाग्दैन थियो । त्यसैले मेरा परिवारले मलाई विपश्यना गर्न सुझाएका हुन् ।’
लिथुआनियाका नागरिक अभिदास गास्पाराभिसियसलाई डेनमार्कबाट नर्वे जाँदा पहिलो पटक एक साथीले विपश्यनाबारे बताइदियो । दोस्रो पटक अर्को साथीले पनि सोही कुरा दोहो¥यायो । तेस्रो पटक साथीकै आमाले पनि विपश्यनाबारे जानकारी दिँदै त्यसबारे पत्रिका पढ्न दिए तर, उहाँको मन गएन । इन्टरनेटमा त्यसबारे अध्ययन गरिसके पछि भने गत फागुनको पहिलो साता काठमाडौँ आएर उनी दश दिने शिविरमा बसे । अहिलेसम्म लगातार तीन पटक धर्मसेवामा खटिसकेको उनी बताउँछन् ।
इञ्जिनीयरिड विषयमा स्नातक गर्नुभएका धर्मसेवक अभिदास भन्छन्– ‘मानवीय सेवामा लाग्ने अहिले मेरा लागि अर्को विकल्प प्रारम्भ भएको छ । विगतमा अरू व्यक्ति भैm दुव्र्यवहारमा उत्रिहाल्ने स्वभाव ममा अहिले छैन ।’ बुद्ध दर्शनमा दश पारमितामा धर्म दान सबभन्दा ठूलो दान मानिन्छ । सबैभन्दा महत्वपूर्ण पारमी मानिएकैले शिविरमा आएका साधक साधिकाहरु धर्म दान गर्न इच्छुक हुने सहायक आचार्य तेजराज शाक्य बताउँछन् । यस्ता शिविरहरु धर्मसेवकबाटै सञ्चालन हुँदै आएका छन् ।