समाचार

ट्रम्पलाई फोटो पोज दिलाउन शान्तिपुर्ण प्रदर्शनकारी माथि हानियो टियर ग्याँस

न्यूयोर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोटो पोज दिलाउन शान्तिपुर्ण आन्दोलनमा टियर ग्याँस एवं रबरको गोली प्रहार गरिएको छ । जर्ज फ्लोयड हत्याको विरुद्धमा आन्दोलनमा उत्रिएका सर्वसाधारणलाई हटाएर बलपुर्वक हटाएर ट्रम्पलाई ह्वाइट हाउसबाट नजिकैको सेन्ट जोन्स चर्च जाने बाटो खुलाइएको हो ।

ट्रम्पले सोमबार साँझ ह्वाइट हाउस रोज गार्डेनबाट देशबासीलाई सम्बोधन गर्दै शान्तिपुर्ण आन्दोलनको आफु सहयात्री रहेको दावी गरेका थिए । तर, ठिक त्यही बेला ह्वाइट हाउस बाहिर भने शान्तिपुर्ण रुपमा प्रदर्शनमा उत्रिएकाहरु माथि टियर ग्याँस प्रहार भइ रहेको थियो । सम्बोधनका क्रममा ट्रम्पले आफुलाई कानूनी शासनको राष्ट्रपति दावी गरेका थिए । साथै हिंसात्मक आन्दोलन चर्किए सेना लगाएर आफुले नियन्त्रणमा लिने उनको भनाइ थियो ।

रंगभेद एवं निशस्त्र व्यक्तिमाथी प्रहरीले यातना दिने क्रमको अन्त्य माग गर्दै शान्तिपुर्ण प्रदर्शनमा उत्रिएकाहरुका आवाजप्रति भने उनले कुनै चासो व्यक्त गरेनन् । सम्पुर्ण आन्दोलनकारीलाई हिंसा भड्काएको परोक्ष आरोप लगाएर आफुले नसहने चेतावनी दिए । न्याय माग गरेर सडकमा उत्रिएका नागरिक बिरुद्ध सेना परिचालन गर्छु भन्ने अस्वीकार्य रहेको भन्दै बिभिन्न गभर्नर र मानव अधिकारबादीले ट्रम्पको विरोध गरेका छन् ।

सात मिनेट रोज गार्डेनको सम्बोधन पछि ट्रम्प चर्च तर्फ गएका थिए । त्यसैका लागि ह्वाइट हाउस पछाडि शान्तिपुर्वक प्रदर्शन गर्नेहरुलाई बलपुर्वक हटाइएको थियो । आन्दोलनकारीहरुले आफ्ना माग समेटेर रंग्याएको सडक किनारको भित्ता हुँदै ट्रम्प चर्च पुगेका थिए । महान्यायाधिवक्ता विलियम बार लगायत मन्त्रीपरिषद् सदस्यहरुलाई साथै लिएर गएका उनले बन्द रहेको चर्च बाहिर पुगेर विजयी भावमा बाइवल समाएर फोटो पोज दिएका थिए । कडा सुरक्षा घेराबीच चर्च पुगेका ट्रम्प दुई मिनेटमै फर्किएका थिए ।

सुरक्षाकर्मीले पछि हटाए पनि ह्वाइट हाउस आसपास सोमबार साँझ ९ बजेसम्म पनि शान्तिपुर्ण प्रदर्शन जारी रहेको छ । विगतको तुलनामा सोमबार सुरक्षाकर्मीको उपस्थिती बाक्लो बनाइएको छ ।

(तस्वीरः फक्स फाइभ डिसी)