समाचार

रुकुम घटनापछि वेपत्ता थप एक जनाको शव फेला

रुकुम । रुकुम पश्चिम, चौरजहारीमा भएको घटनामा वेपत्तामध्ये थप अर्का युवकको समेत शव फला परेको छ । मंगलबार उनको शव फेला परेसँगै यस घटनामा ज्यान गुमाउने युवाको संख्या ६ पुगेको छ । अन्तरजातीय प्रेम विवाहका लागि केटी भगाउन जाजरकोटबाट रुकुम आएको युवाको समुहलाई चौरजहारी नगरपालिका–८ सोती गाउँका स्थानीयले लखेटेका थिए ।

त्यसक्रममा ज्यान जोगाउन भेरी नदीमा हामफालेका युवामध्ये मंगलबार भेरी नगरपालिका–११ का १८ वर्षीय गोविन्द शाहीको शव भेटिएका हो । उनको शव भेरी नगरपालिका–१२ स्थित भेरी नदीमा भेटिएको हो । घटना जेठ १० मा भएको हो । यस घटनामा उनीसँगै भेरी नदीमा हामफालेका सञ्जु विक, लोकेन्द्र सुनार, नवराज विक, गणेश बुढा र टीकाराम सुनारको शव फेला परेको छ ।

यो घटनालाई अन्तरजातीय विवाहसँग जोडेर हेरिएको छ । तर, लखेट्ने गाउँलेहरुले भने लकडाउनको समयमा एकै पटक १९ जनाको समूह गाउँ पसेपछि प्रतिकार गरेको र त्यसक्रममा भागेका उनीहरु आफ्र दूर्घटनामा परेको तर्क दिइरहेका छन् । घटनाको प्रहरीले अनुसन्धान थालिसकेको छ ।