स्वास्थ्य

डडेलधुरामा क्वारेन्टाइनमा युवतीको ज्यान गयो, कोरोना परीक्षण हुँदै

डडेल्धुरा । डडेलधुरामा एक युवतिको क्वरेन्टाइनमा बसेको अवस्थामा मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका–२ की ३० वर्षीया युवतीको ज्यान गएको हो । मंगलबार राति उनी शौचालय गएको बेला बेहोस भएकी थिइन् । तर, समयमै एम्बुलेन्स लैजान नसकिएका कारण उनको ज्यान गएको प्रहरीले बताएको छ । उनी चार दिनअघि भारतबाट आएकी हुन् । उनमा काम्ने समस्या रहेको र गाउँबाट धामी झांक्रीसमेत मगाइएको बताइएको छ ।

उनी श्रीमान् र छोरासँगै गन्यापधुरा गाउँपालिका–१ ले निमार्ण गरेको असिग्राम आधारभूतको क्वारेन्टाइनमा बसेकी थिइन् । मंगलबार राति ११ बजे उनी बेहोस भएकी थिइन् । अस्पताल लैजान एम्बुलेन्स भने १ बजे पुगेको थियो । तर, उनमा कोरोना भएको भन्दै कसैले छुन नमानेपछि एम्बुलेन्सले बिरामीलाई अस्पताल लैजान सकेन ।अहिले उनको स्वाव संकलनको काम भइरहेको बताइएको छ ।

अहिले भारतबाट अधिकांश व्यक्तिमा कोरोनाको संक्रमण पुष्टी भइरहेको छ । सरकारले भारतबाट नेपाली नागरिकलाई स्वदेश ल्याएसँगै दैनिक ३ सय औसतः बिरामी थप भइरहेको छन् । नेपालमा मंगलबार साँझसम्मको तथ्यांक अनुसार कुल संक्रमित २१ सय नाघेको छ ।