फिचर

ट्रम्पको पुननिर्वाचनको बाटो साँघुरो बन्दै, मन नपराउनेको संख्या निरन्तर बढ्दो

गुगल फाईल फोटो

न्यूयोर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनर्निर्वाचनमा सपना दिनहुँ साँघुरो बन्दै भएको छ । कोरोना भाइरस संक्रमण विरुद्ध कमजोर व्यवस्थापन एवं पछिल्लो समय सामाजीक न्यायका लागि भइरहेको निरन्तरको आन्दोलनले ट्रम्पको अलोकप्रियतालाई बढावा दिएको हो ।

ट्रम्प राष्ट्रपति निर्वाचित भएयता अहिलेसम्म कुनै पनि विश्वासिला मत सर्भेक्षणमा ५० प्रतिशत  ‘एप्रुल रेटिङ (लोकप्रियता)’ आर्जन गर्न सकेका छैनन् । अहिले उनको अलोकप्रियता थप न्यून बिन्दुमा आइ पुगेको हो ।  ‘फाइफ थर्टी एट डट कम’ले निकालेको बिभिन्न स्वतन्त्र मत सर्भेक्षणहरुको औषत तथ्यांक अनुसार ट्रम्पको काम कारवाहीलाई ५३.६ प्रतिशत अमेरिकीले गतिलो नभएको बताएका छन् । दोस्रो कार्यकालका लागि निर्वाचन हुन पाँच महिना मात्र बाँकी रहेको अवस्थामा कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिको यो ‘डिस्एप्रुभल’ सबैभन्दा उच्च हो ।

यसअघि यही समयमा जर्ज एच डब्लु बुसको औषत डिस्एप्रुभल ५१.५ प्रतिशत र जिम्मी कार्टरको ५२ प्रतिशत थियो । दुबै जनाले पुनर्निर्वाचन हारेका थिए । बुस पुत्र जर्ज डब्लु बुस २००४ को चुनाव हुन अघि पाँच महिना ४९.५ प्रतिशत डिसएप्रुभलको अवस्थामा थिए । इकार युद्ध टुङ्ग्याउने बाचा गरेर बुसले झिनो मतान्तरमा पुनर्निर्वाचन जितेका थिए । ट्रम्पको एप्रुभल रेटिङ ४२.७ प्रतिशत रहेको छ ।

पोलिटीको /मर्निङ कन्सल्टको पछिल्लो सर्भेक्षणमा ट्रम्पको डिस्एप्रुभल सबैभन्दा धेरै ५५ प्रतिशत रहेको छ । ट्रम्पले धेरै रुचाउने रास्मुसेन पोलमा समेत उनको एप्रुभल केही दिन अघस ४२ प्रतिशतसम्म झरेको थियो । बुधबार उक्त पोलमा उनको एप्रुभल ४४ प्रतिशत र डिस्एप्रुभल ५४ प्रतिशत रहेको छ ।

ट्रम्पको समग्र कामको मूल्यांकन मात्र ऋणात्मक रहेको होइन उनी आफ्ना प्रतिश्पर्धी जो बाइडेनसँग अहिलेको अवस्थामा चुनाव आँकलन गरि गरिएका सर्भेक्षणमा पनि धेरै पछि परेका छन् । ‘रियल क्लियर पोलिटिक्स’को औषत तथ्यांक अनुसार अहिले ट्रम्प बाइडेनभन्दा आठ प्रतिशत बिन्दुले पछि छन् । बाइडेनलाई औषत ५० प्रतिशतको समर्थन देखिएको छ भने ट्रम्पलाई ४२ प्रतिशतले मत दिने बताएका छन् । ट्रम्प आफ्ना सम्भावित प्रतिश्पर्धीसँगको मत सर्भेक्षणमा यति ठूलो अन्तरले पछि पर्ने पहिलो वहालवाला अमेरिकी राष्ट्रपति हुन् । सन् २००८ र २०१२ को चुनाव हुन पाँच महिना अघि बाराक ओबामा आफ्ना प्रतिश्पर्धीहरु भन्दा औषत दुई प्रतिशत बिन्दुभन्दा कमको मतान्तरमा अगुवाइ गरि रहेका थिए । दुबै चुनाव उनले सहज जितेका थिए ।

राष्ट्रिय स्तरको सर्भेक्षणमा मात्र होइन मुख्य प्रतिश्पर्धी राज्यमा पनि बाइडेनको अवस्था सहज देखिएको छ । २०१६ मा ट्रम्पले जितेका विस्कनसन, एरिजोना, ओहायो लगायत राज्यमा बाइडेनले प्रष्ट अग्रता लिएको सर्भेक्षण बुधबारमात्र फक्स न्यूजको सर्भेक्षणले देखाएको छ । यस्तै अर्को प्रतिश्पर्धी राज्य फ्लोरिडामा बाइडेनले उछिनेको अर्को सर्भेक्षण सिबिएस न्युजले प्रकाशित गरेको छ भने लामो समय रिपब्लिकनको एकछत्र रहेको टेक्सासमा बराबर प्रतिश्पर्धा देखिएको कुन्निपियाक विश्वविद्यालयकव सर्भेक्षण पनि बुधबारै नै प्रकाशित भएको छ ।