फिचर

शुक्रबारबाटै शुरु हुने भयो विदेशबाट नेपाली नागरिकको उद्दार, म्यानमारबाट २६ नेपाली फर्कने

काठमाडौं । कोरोना भाइरसको महामारीका बीच भारतबाहेक विदेशबाट नेपालीको उद्दार अभियान शुक्रबारबाटै शूरु हुने भएको छ । भारतबाट भने यस अगाडी नै स्थलमार्ग हुँदै नेपाली आइरहेका छन् । हवाईमार्गबाट पहिलो पटक म्यानमारबाट २६ जना नेपाली घर फर्कने भएका छन् । म्यानमारको सैन्य जहाजले उनीहरुलाई काठमाडौं ल्याउँदैछ । बर्मा सरकारले त्यहाँ अलपत्र नेपालीलाई सैन्य जहाजबाट नेपाल ल्याइदिनेछ ।

उक्त जहाजले काठमाडौंमा रोकिएका आफ्ना नागरिकलाई फिर्ता समेत लैजाने भएको छ । बर्माबाट सैन्य जहाजले निशुल्क नेपाल ल्याउन लागेको हो । शुक्रबार नै संयुक्त अरब इमिरेट्सबाट एयर अरेबियाको चार्टर्ड विमान आउने बताइए पनि यसको निधो भने नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सरकारले विभिन्न देशमा समस्यामा परेका श्रमिक, विद्यार्थी र अन्य नागरिक फर्काउने अभियान थाल्दैछ ।

यस क्रममा कतिपय स्थानमा नेपाल एयरलाइन्स पुग्नेछ । कतिपय स्थानबाट भने सम्बन्धित मुलुकले नेपालीलाई घर पठाइदिनेछन् । घर आइसकेपछि उनीहरुलाई विमानस्थलबाट होल्डिंग सेन्टरमा लगिदैछ । त्यहाबाट स्थानीय तहमा जानेलाई सेनाले त्यहासम्म लैजानेछ । होटेलमा बस्नेलाई भने सम्बन्धित होटेलसम्म लगिने छ । स्थनीय तहको क्वारेन्टाइनमा पुगेकालाई सरकारले खान बस्नको व्यवस्था गर्नेछ । होेटलमा भने आफ्नै खर्चमा बस्नु पर्नेछ ।