विज्ञान प्रविधि

बिहीबार निको भएर घर फर्किए ३० संक्रमित

विराटनगर । बिहीबार मात्र नेपालमा कोरोना भाइरसका ३० जना संक्रमित निको भएका छन् । प्रदेश १ मा बिहीबार ३० जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । विराटनगरस्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका २७ जना कोरोना मुक्त भएक छन् । तीनजना धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा उदयपुरका एक पत्रकार र धनकुटाका चार स्वास्थ्यकर्मी छन् । उदयपुरका एक महिला र दुई पुरुष, झापाका ७ पुरुष, मोरङका एक महिलासहित ६ जना, सुनसरीका ४, धनकुटाका २ महिला र दुई पुरुष, खोटाङका एक पुरुष र सप्तरीका २ जना पुरुष गरी २७ जना डिस्चार्ज भएको कोसी अस्पतालले जनाएको छ । अब उदयपुर कोरोनामुक्त बन्न सफल भएको छ ।

प्रदेश १ मा समेत संक्रमित भई निको हुनेको संख्या ७६ पुगेको छ । यस प्रदेशमा ओखलढुंगा र इलामबाहेकका सबै जिल्लामा संक्रमित भेटिएका छन् । प्रदेश १ मा संक्रमितको संख्या २ सय १ पुगेको छ ।