समाचार

आरटीडी नेगेटिभ देखिएको युवाको मृत्यु, पिसिआर गर्दा कोरोना पुष्टी

सुर्खेत । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । पश्चिम सुर्खेतमा आरडीटी नेगेटिभ आएका एक युवालाई क्वारेन्टाइनबाट घर पठाइएको थियो । तर, उनको घरमा बिहीबार बिहान मृत्यु भएको थियो । मृत्युपछि गरिएको पिसीआर परिक्षणको नतिजा भने पोजेटिभ पाइएको छ । पञ्चपुरी नगरपालिका-१ हाँसेका २० वर्षीय युवकलाई आरटीडी विधिको परीक्षणले भने नेगेटिभ देखाएको थियो ।

उनको स्वाबको रिपोर्ट शुक्रबार बिहान २ बजे आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । जेठ ७ मा उनी भारतबाट आएका थिए । त्यसपछि उनीसहितको टोलीलाई जनता क्वारेन्टाइनमा राखिएको थियो । मृतक युवकसँगै जनता माविको क्वारेन्टाइनमा ५४ जना रहेको प्रहरीले बताएको छ ।

उनीहरुको कोरोना परीक्षण गर्दा तीन जनालाई पोजेटिभ देखिएको थियो । अब नेपालमा कोरोनाका कारण मृत्यु हुने व्यक्तिको संख्या ११ पुगेको छ । पछिल्लो दिनमा भारतबाट आएका अधिकांश व्यक्तिमा कारोना पुष्टी भइरहेको छ ।