समाचार

देशका विभिन्न स्थानमा २४ घण्टासम्म लगातार वर्षाको प्रक्षेपण

फाइल तस्वीर

काठमाडौं । नेपालमा आगामी २४ घण्टासम्म देशका विभिन्न स्थानमा लगातार वर्षा हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका धेरैजसो स्थानमा वर्षा हुनेछ । काठमाडौं उपत्यकाका शुक्रबार रातीबाटै वर्षा जारी रहेको छ । अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रमा प्रभाव परेको हो ।

यसले स्थानीय र पश्चिमी वायुको प्रभावले आज दिनभरजसो र राति समेत मुलुकका बिभिन्न भूभागमा वर्षा गराउने महाशाखाको भनाई छ । महाशाखाका अनुसार प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का अधिकांश भू भागमा वर्षा जारी रहेको छ । दिउँसोसम्म बाँकी प्रदेशमा पनि वर्षा हुने सम्भावना रहेको छ । रातीसम्म वर्षा कायम हुनेछ । वर्षाले नदीको बहाव बढाउन सक्ने सम्भावना रहेको छ । पहाडी भेगमा लगातार वर्षाले ठाडो खोलाहरु बढ्न सक्ने प्रक्षेपण गरिएको छ ।