फिचर

शुक्रबार नै यूएईबाट काठमाडौं आए १५७ नेपाली

काठमाडौं । शुक्रबार काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साविकको तुलनामा केही व्यस्त देखियो । बिहान म्यानमारबाट आएको एयरफोर्सको जहाज उडेलगत्तै नेपाल एयरलाइन्सको जहाज जापानको नारिताबाट फर्किएर काठमाडौं अवतरण गर्यो । त्यसको केही समयमै चीनमा कार्गो उडानका लागि गएको हिमालय एयरलाइन्सको जहाज अवतरण गर्यो ।

शुक्रबार साँझ भने एयर अरेवियाको जहाज काठमाडौं आयो । यो जहाजमा कोभिड–१९ भाइरसको महामारीका कारण यूएईमा समस्यामा परेका १५७ जना नेपाली थिए । सारजाह विमानस्थलबाट आएको एयर अरेवियाको जी ९ १७५१ नम्बरको जहाजले ती नेपालीलाई घर ल्याएको हो । उनीहरुको भाडा तथा जहाजको व्यवस्थापनसमेत यूएई सरकारले गरिदिएको हो ।

यूएईले यसअघि नै नेपालीलाई आफ्नै जहाजमा राखेर नेपाल फर्काउन चाहेको थियो । तर, नेपालले तयारी नसकेका कारण फर्काइएको थिएन । शुक्रबार यूएइको इजादा फ्यासिलिटी म्यानेजमेन्टमा कार्यरत ६७, टान्स गार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना र अन्य ११ जना गरी १ सय ५७ जना नेपाली नेपाल आएका छन् । उनीहरुलाई समेत होल्डिङ सेन्टर राखिएको छ । त्यहाबाट आइसोलेसन, क्वारेन्टाइन वा होम क्वारेन्टाइन कहाँ राख्ने भन्ने तय हुने भएको छ ।

शुक्रबार भएका दुई उडान सम्बन्धित मुलुकले नै पठाएका कारण सम्भव भएको हो । अन्य स्थानका लागि भने सरकारले अझै तयारी पुरा गरिसकेको छैन । नेपालले खाडी मुलुक, बंगलादेश, अष्ट्रेलियालगातबाट नेपाली जहाज पठाएर नेपालीको उद्दारको योजना बनाइरहेको छ ।

यूरोप र अमेरिकाबाट आउने हो भने ट्रान्जिटसम्म आउनुपर्नेछ । किनकी यूरोपेली यूनियनले नेपाली जहाजलाई उसको आकासमा उड्ने अनुमति दिँदैछ ।