समाचार

कांग्रेसद्धारा १ सय ५२ नेता\कार्यकर्ता निष्काशन

काठमाडौं । नेपाली कांग्रेसले १ सय ५२ नेता, कार्यकर्तालाई पार्टीबाट निष्काशन गरेको छ । स्थानीय, प्रदेश र संघीय चुनावमा बागी उठ्ने नेता र ती नेतालाई समर्थन र प्रस्ताव गर्ने कार्यकर्तालाई पाँच वर्ष सम्म लागु हुने गरी कांग्रेसले मंगलबार निष्काशन गरेको छ ।

केन्द्रीय अनुशासन समितिको मंगलबार बसेको बैठकले २५ जिल्लाका १ सय ५२ नेता, कार्यकर्तालाई जिल्लाको अभिलेखबाट हटाउन निर्देशन दिएको हो।

कांग्रेसले पार्टीको विधान २०१७ को धारा ३४ को उपधारा ४ अनुसार बागी उम्मेदवार र उनलाई प्रस्ताव वा समर्थन गर्ने कार्यकर्तालाई पार्टीबाट पाँच वर्षका लागि निष्काशन गरेको उल्लेख गरेको छ ।

समितिका संयोजक भिष्मराज आङ्देम्बेले जारी गरेको विज्ञप्तिमा आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवार बनेका, निजका प्रस्तावक एवं समर्थक तथा अन्य पार्टीमा गई विभिन्न तहमा उम्मेदवारी दिएका, नेता तथा कार्यकर्ताहरुलाई कारबाही गरिएको उल्लेख छ ।

उनीहरूलाई सम्बन्धित जिल्लाको पार्टीको अभिलेखबाट हटाउन समेत निर्देशन दिइएको छ।

समितिले बाँकेका ११, बाराका ३, चितवनका१३, दाङका २२, धनुषाका १०, इलामका ४, झापाका ७, कैलालीका २, कपिलवस्तुका ३, कास्कीका १, काठमाडौंका १५ ललितपुरका ९, लमजुङ ५, पर्साका ३२, रूपन्देहीका २२, सुनसरीका ३, ओखलढुंगाका ५, सिराहाका २, संखुवासभाका १ , रौतहटका २, रसुवाका १, पाँचथरका १, पाल्पाका ४, नवलपरासीका १, मोरङ्का १, लम्जुङका ५ जनालाई कारबाही स्वरूप पार्टीबाट निष्काशन गरेको हो ।

वागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरुको नामावली नपठाएका जिल्लालाई तत्काल पठाउन पनि समितिको निर्देशन दिएको छ।