09-Aug-2020 | २५ श्रावण २०७७, आईतवार

कुट्न पाइने सम्वन्ध

२४ जेष्ठ २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


अच्युत सिग्देल, न्यूयोर्क

दशैंको बिदा थियो । स्कूल बन्द थियो । पचास साठी जनाको समुह चौतारीको चिया पसलमा चिया पिएर गफ चुट्दै थिए । एक जना सिमलीको लठ्ठी लिएर सुस्तरी आफ्नै चालमा पसल भित्र छिरे । उनी गोठालो जान लागेको, हलो जोत्न जान लागेको वा टेक्ने लट्ठी लिएको कसैले सोधखोज गरेन । न त रोकतोक वा टोकाटोक नै । उनले एक प्याकेट गैंडा चुरोट र सलाई किने ।

ढोकाबाट बाहिरिने क्रममा उनी एकाएक पसल भित्र वसिरहेको मान्छे माथि जाइलागे । कुटाकुट चल्यो पसल भत्कियो । पहिला चियाको चुस्किमा रमाई रहेका मानिसहरू दुई भागमा बिभाजिन भए । धेरैको टाउको फुट्यो । रगतले अनुहार छोपियो । आफ्नै साथीहरू पराई भए । जो जो छुट्याउन गए उनीहरूले पनि गज्जवको लात्ती भेटे । आधा घण्टाको लड़ाई पछि पसल रण मैदानमा परिणत भए । जित्ने गोरूले हार्ने गोरू लखेटे जस्तै एक हुल मान्छेहरु भागे बाँकी रहेका सबै पछि पछि लाग्दै जे जेले भेट्यो त्यसैले हान्दै लखेटे । 

साँझपख तिर पुलिसको भ्यान र जीप आयो । प्रधानपञ्च लगाएत वडा अध्यक्ष र सदस्यहरू समातिए । ज्यान मार्ने उध्योग गरेकोमा जिल्ला अदालतमा मुद्दा परेको सुनियो । घटनामा संलग्न आधाजति भागिसकेका थिए । 

पुलिसले घटनाको मुख्यपात्र जस्ले कुटपिट सुरू गरेका थिए । उनको बावुलाई समातेर हतकडी लगायो र भ्यानमा कोचिदियो । हतकडीलाई फलामको चेनले बॉधिएको थियो । उनी प्रतिष्ठित थिए । जब उनी समातिएको खबर फैलियो तर घटनामा सँलग्न भै भागेकाहरू फटाफट एक एक गर्दै निस्किन थाले । पुलिससँग अरू हतकडी रहेनछ, सबैलाई डोरीले बॉधेर राखे । 

हेर्नेको भिड लाग्यो । बर पिपलको रूखमा चढेर हेर्ने टन्नै थिए । चिलाउने कटुस र काप्रोको बोटमा चढ्ने पनि थुप्रै थिए । हल्दार सापले कानेखुसी के गरेका थिए । एक फुलीवाला असई साप जँगिइहाले; “मामीमुमेहरू, चरा मारे जस्तो गोलीहानेर झारी दिऊँ ?” अलिअलि डराएर ओर्लिए । तर धेरै जना रातीसम्म रमिता हेरिरहे । 

पुलिसले मिलापत्र गराएको गाईंगुई सुनियो । २०० जारी तिर्न बाँकी नतिरेकोले कुटेको रे भन्ने सुनियो । ‘अरूको स्वास्नी भगाउने अनि जारी पनि नतिर्ने अनि कुटाई खाईदैन त ?  अर्काको स्वास्नी भगाउने मुर्दारलाई मार्नु पर्ने । कम भयो’। यस्तै यस्तै भन्दै थिए – मान्छेहरू । 

रात परेपछि लाल्टिन बालेरै भएपनि मिलापत्र गराइएछ । पसलको तोडफोडको रकम पॉच सय तोकिएछ । त्यो मघ्ये झगडालु दुबैले दुईसय पचास – दुई सय पचास तिर्नुपर्ने भएछ । जारीको सॉवा व्याज मिलाएर तीनसयमा सहमती भएछ । कुट्नेलाई हातहाले बापत थप दुईसय जरिवाना सुनाईएछ, कानून हातमा लिएकोले हो रे । 

प्रहरीको समन्वयमा सहमती भयो । दुबैले नेपाली कागजमा सहछाप गरे । लेनदेन पनि भयो होला । दुबै समुह मिलेर पुलिसले खाएको पैसा पनि तिरी दिएछन् । बेलुका सुरा – लुईचे पार्टी चल्यो । सम्धी सम्धी भन्दै अंकमाल भयो । रक्सीले पनि मध्यस्तकारी भूमिका निभायो । पुलिस काम सकाएर टुप्पीमा रातो बत्ति बाल्दै आफ्नो बाटो लाग्यो । 

फेरी अर्को वर्ष तिहार आयो । पिङमा फेरी मान्छे कुटेको खबर आयो । त्यही पुरानो कथा दोहरिएछ । रगताम्य भएको बिरामी अस्पताल लगिएछ । हामी स-सनालाई जान दिइएन । फेरी पुलिस आयो पटके अभियोग लगाएर ठूलो क्षतिपूर्ति दिलाई यो रे । 

हामीपनि समयसँगै बढ्दै गयौ । हरेक दशैं तिहारमा गोरू चुटेजस्तो चुट्ने र चुटिईने क्रम रोकिएन । ती दाइ नेता पनि भैसकेका थिए । हामीसँग मिलनसार नै थिए । एक पटक मैले सोधेको थिएँ । ‘अनाहकमा मान्छे किन कुटेको ?’ भनेर । 

उनको जवाफ थियो । “जारलाई त नमरून्जेल पिटी रहनु पर्छ नि” । मैले कानून मिच्न नपाईने र आफूले पढेको “प्यार अमर हुन्छ, प्यारमा तगारो बन्नु हुन्न” भन्ने क़िस्सा सुनाएको थिएँ । उनी भन्थे “जव पुरूषार्थमा दाग लाग्छ, त्यो कसैले मेटेर मेटिन्न । ईख नभएको मान्छे र बिष नभएको सर्प के काम “? अझ थप्थे; ‘यो पिट्न पाइने सम्वन्ध उसैले जोडेको हो’ । ऊ पिट्न पाइने सम्बन्धको भ्रम बोकेर कानूनमाथि सवार हुन अझै तयार थियो ।

बिरोधाभाषी सँस्कार र सँस्कृतीमा हुर्किएको हाम्रो समाजमा घट्ने यस्तै घटनाहरू अझैपनि उस्तै लाग्छन् । 

कानूनले एउटा बाटो देखाउँछ । परम्परागत चलनले अर्कै बाटो देखाउँछ । जवसम्म शिक्षा, चेतनास्तर र आर्थिक अवस्थामा आमूल परिवर्तन आउँदैन, तवसम्म मान्छेको सोच परिवर्तन गराउन गार्हो हुन्छ । बिवेक बुद्धि बंगारो जस्तै हो । सबैभन्दा बिस्तारै पलाउँछ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार