फिचर

शुक्रबार यूएईबाट आयो नेपालीको एउटा शव, १५३ शव अझै अलपत्र

काठमाडौं । शुक्रबार १ सय ५७ जना नेपाली बोकेर आएको एयर अरेवीयाको जहाजले नेपालीको एक शव पनि ल्याएको थियो । लकडाउनको अवधिमा कोरोनाबाहेक समेत अन्य कारणले २ सय भन्दा बढी नेपालीको विदेशमा ज्यान गएको थियो । कोरोनाका कारण पनि १ सय २५ हाराहारीको ज्यान गएको छ । यसरी मृत्यु भएका मध्ये कोरोनाका कारण निधन भएका नेपालीको शव नेपाली ल्याउन पाइदैन ।

अन्य कारणले ज्यान गएका नेपालीको शव भने अझै पनि नेपाल ल्याउने आशमा विदेशमा अलपत्र अवस्थामा रहेको छन् । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका १५३ जना नेपाली कामदारको शव विदेशमा रोकिएको तथ्यांक छ । मलेसिया, खाडी मुलुक, युरोप तथा अमेरिकामा ज्यान गुमाएका नेपालीको शव उतै अड्किएको हो ।

वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार मलेसियामा ४७, साउदी अरबमा ४५, कतारमा २७, युएइमा १३, कुवेतमा ११, बहराइनमा ५, ओमनमा १ र अन्य मुलुकमा चार जना नेपालीको शव रहेको छ । परिवारको सहमतिमा लकडाउनकै अवधिमा ८५ जनाको अन्त्येष्टि मृत्यु भएकै मुलुकमा गरिएको छ ।

मलेसियामा ५, साउदी अरब १३, कतारमा १०, युएइ ४२, बहराइन २, दक्षिण कोरिया ५ र अन्य मुलुकमा ज्यान गुमाएका ८ जना नेपालीको सोही मुलुकमा अन्त्येष्टि गरिएको छ । कोरोना संक्रमणबाट विदेशमा २३ नेपाली कामदारको ज्यान गएको छ ।

कोरोना लागेर ज्यान गुमाएका अन्य नेपाली भने पूर्वगोर्खा सैनिक, विदेशमा स्थायी बसोबासको अनुमति पाइसकेका गैरआवासीय नेपालीलगायत हुन् । कोरोनाका कारण साउदीमा ९, कतारमा ४, युएईमा ९ सहित २३ नेपालीको ज्यान गएको हो । कोरोना बाहेक अन्य कारणले मृत्यु भएकाको शव विमान चार्टड गरेर यात्रुसँगै क्रमशः ल्याउने योजना सरकारको छ ।