समाचार

शनिबार पनि देशका धेरै स्थानमा दिनभर वर्षा हुने

काठमाडौं । नेपालको अधिकांश स्थानमा शनिबार दिनभर पानी पर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिनभर जसो नै वर्षातको सम्भावना रहेको छ । निसर्ग आँधीका कारण आज देशैभरी दिनभरजसो वर्षात हुने महाशाखाले उल्लेख गरेको छ । अरब सागरमा बनेको चक्रवातका कारण बनेको मौसम प्रणाली भारत हुँदै नेपाल भित्रिएपछि पानी पर्न लागेको हो ।

महाशाखाका अनुसार शनिबार दिउँसो धेरै जसो स्थानमा पानी पर्नेछ । बेलुकापछि भने पानी पर्न रोकिने सम्भावना छ । आइतबारदेखि भने स्थानीय वायुको प्रभावका कारण केही ठाउँमा पानी परे पनि देशैभर एकैसाथ पानी पर्ने सम्भावना नहुने महाशाखाको भनाई छ ।

महाशाखाका अनुसार अहिले मनसुन भित्रि सकेको छैन । तर, भित्रन अहिले प्रणाली विकास हुने क्रम जारी रहेको छ । आगामी साताको शुरुवातबाटै मनसुन भित्रन सक्ने अनुमान गरिएको छ । काठमाडौं उपत्यकामा शुक्रबारबाटै जारी वर्षा निरन्तर छ ।