बिचार

अघि 'सर' पछि 'सर' : व्यङ्ग्यात्मक लेख

अर्जुन दाहाल / नून चिनी पानी (अभियन्ता)

मैले पहिला सुनेको ‘सर’ शब्दले बिद्यालयमा पढाउने गुरुबा भनेर बुझ्दथें । आफु १० कक्षा पढ्दै गर्दा मेरो मावली गाउँ साब्लाखु पुगेको बेला मलाई पाको देखे कि कुन्नी केही मित्रले ‘सर’ भनेर बोलाउनु भयो । म अलमल्ल परें । टोपी देखेर होकि भनेर टोपी गोजीमा कोचें । केही बोलिन । म त १० कक्षा पढ्ने विद्यार्थी मात्रै थिएँ । पछि मेरी कान्छी माइजूलाई सुनाएँ; ‘पाहुना भान्जालाई मान गरेका होलान्’ भनेर अझ थपि दिनुभो । सरको अर्थ अझ भेग बन्यो ।

यता अमेरिकामा आएपछि मैले मेरो कामको बोसलाई ‘सर’ भनेर सम्बोधन गर्दा मज्जाले रिसाएको पनि सम्झन्छु । मलाई किन सर भनेको ? म केको सर ? नामले बोला नत्र नबोल भन्छ गाँठे ! यही ‘सर’ संग जोडिएको अर्को प्रसंग पनि जोड्न मन लाग्यो । पहिला म प्राय: यसो हेरेर अनुमानको आधारमा दाइभाइ भनेर बोलाउँने गर्दथें । जसलाई दाइ भनेर बोलाउन थालें, उनीहरु आवस्यकता भन्दा बढी सम्मान गरेको सम्झेर तिमी भनेर बोलाउन थाले । तिमी भन्नु खराब त होइन तरपनि खैके खैके लाग्ने ! त्यसपछि मैले दाइभाइको सट्टा प्राय: ‘सर’ भनेर सम्बोधन गर्न थालें ।

सर भन्नु सजिलो पनि छ । नाम सहित भनेर नामको पछाडि ‘जी’ जोडिराख्नु भन्दा छरितो लाग्छ । यद्यपी सर शब्द सुन्यो कि नानाथरी दिमागमा घुम्छ । अगाडि सर भएको सरकारले गर्ने गरेको “अघि सर वा पछि सर” वाला व्यवहार मलाई ताज्जुब लाग्छ । भारतबाट आउने नेपालीमा पछि सर्ने चीनबाट आउने नेपालीमा अघि सर्ने, प्रतिपक्षमा हुँदा अघि सर्ने, सरकारमा हुँदा पछि सर्ने, भाषणमा अघि सर्ने, काममा पछि सर्ने, यो सरकारसँगको “कार” अघि र पछि सरेको देख्दा खै कता सरेको हो यो “सर-कार” बिलखबन्दमा छु । अनि यो पछि भएको सर “अवसर” पनि परिस्थिति हेरी अघिपछि सर्दो रहेछ । अवसरबादी भनेर प्राय: बाम्पन्थीहरुले प्रयोग गर्ने शब्द उनीहरु पनि कहिले अघि सर्न र कहिले पछि सर्न प्रयोग गरेको थुप्रै पटक देखियो/ सुनियो । अवसर शब्दले राम्रो कुराको संकेत गरे पनि अवसरबादीमा पुग्दा भने सबैले सजग हुनु नै जाती हुँने रहेछ । “सरकार”मा जानुलाई जनताको सेवामा प्रयोग गर्ने “अवसर” लिनुको सट्टा आफ्नै र आफ्नाहरुलाई दुनो सोझ्याउन प्रयोग गरिने अबसरको रुपमा लिएपछि खै जनता “अघि सर्ने कि पछि सर्ने” झुक्किएका छन । 

सरकारले आफ्नो अवसरलाई प्रयोग गर्न कुनै कसर बाँकी राख्नु हुँदैन । अघि “सर” र पछि “सर” को मित्रताले जनतामा अग्रगामी असर पर्ने देखिन्छ ।