फिचर

अमेरिकामा संकटमा रहेका ६४६ नेपाली घर फर्कन चाहन्छन्, अन्य मुलुकमा कति ?

काठमाडौं । अमेरिकाबाट बेखर्ची भई तत्काल नेपाल फर्कन चाहने नेपालीको संख्या ६४६ रहेको छ । सरकारले कोभिड–१९ महामारी र लकडाउनका कारण अप्ठ्यारोमा परेका नेपालीमध्ये तत्कालै उद्दार गर्नुपर्ने सूचिमा अमेरिकाबाट मात्र ६४६ जनाको नाम परेको छ । उनीहरु नेपाल सरकारले उद्दार गर्नुपर्ने पहिलो प्राथमिकतामा परेका हुन् ।

सोमबार परराष्ट्र मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई तत्काल उद्दारको पर्खाईमा रहेका नेपालीको सूचि उपलब्ध गराएको हो । यस सूचिमा बेखर्ची भई सरकारले उद्दार गर्नुपर्ने नागरिकको मात्र संख्या रहेको छ । यस्तो संख्या विभिन्न मुलुकमा रहेका २४ हजार १ सय ४८ जना रहेको परराष्ट्र मन्त्रालय स्रोतलाई उदृत गर्दै केही नेपाली संचारमाध्यमले सार्वजनिक गरेका छन् ।

यस्तो सूचि परराष्ट्र मन्त्रालयले दूतावासहरुबाट संकलन गरेको हो । तथ्यांक अनुसार भारतलाई छाडेर अन्य ३० मुलुकबाट नेपाली तत्काल घर फर्कन चाहन्छन् । यसरी उद्दारको पर्खाईमा रहेका नेपालीमध्ये सबैभन्दा कम लाओस (२ जना) र सबैभन्दा बढी मलेसिया (साढे ६ हजार) मा रहेको पाइएको छ ।

सूचि अनुसार अतिविकसित मुलुकमध्ये अमेरिकाबाट ६४६, अष्ट्रेलियाबाट १३ सय, बेलायतबाट ४९ र क्यानडाबाट ७८ जनालाई तत्काल उद्दार गर्नुपर्नेछ । यो सूचि खान र बस्न समस्या भएको, रोजगारी गुमाएर टाट पल्टेको, घर फर्कन कम्पनीले टिकट नदिएका, अदालतले आममाफी दिएका, सुत्केरीलगायत अन्य विभिन्न संकटमा परेका नेपालीको हो ।

कम्पनीले टिकट काटेर नेपाल पठाइदिने नेपालीलाई भने उद्दारको सूचिमा राखिएको छैन । सरकारले अब यी व्यक्तिहरुलाई नेपाली जहाज प्रयाग गरेर ल्याउने व्यवस्थापन मिलाउने बताइएको छ । सूचि अनुसार साउदीबाट ३३१२ जना नेपाली घर फर्कन चाहन्छन् । माल्दिभ्सबाट ७२४ जनाले नाम लेखाएका छन् ।