समाचार

रुकुम घटनाको छानविन गर्न संसदीय समिति गठन

काठमाडौं । रुकुममा ६ जनाको ज्यान जाने गरी भएको घटना छानबिन तथा अनुसन्धानका लागि संसदीय विषेश समिति गठन भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकले नेकपाका सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय संसदीय विशेष समिति गठन गर्ने निर्णय गरेको हो ।

‘चौरजहारी नगरपालिका, सोती घटना छानविन समिति’का नाममा गठित यो समितिले एक महिनाभित्र प्रतिवेदन बुझाउने सभाुमख अग्नी प्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार सांसदहरु एकवाल मिया, दुर्गा पौडेल, पार्वती विसुंखे, विमला विश्वशकर्मा, महेश्वरजंग गहतराज, मीन बिश्वकर्मा, रामसहायप्रसाद यादव र प्रकास रसाइली समितिमा सदस्य रहेका छन् ।

संसदमा प्रतिनिधित्व गर्ने दलित समुदायका सांसद तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुम घटनाको छानबिनका लागि उच्चस्तरिय संसदीय समितिको माग गरिरहेका थिए । यो घटनाबारे गृह मन्त्रालयले समेत अनुसन्धान गरिरहेको छ ।

चौरजहारी घटना गैरजातिय विवाहको मामलाका कारण भएको दलित समुदायको दावि छ । उता, रुकुमका स्थानीय भने लकडाउनको समयमा ठूलो समूहमा युवा गाउँ छिरेपछि प्रतिकार गर्दा घटना भएको दावि गर्छन् । यस घटनामा नवराज विकसहत ६ जना जाजरकोटका युवा मारिएका थिए ।

दलित युवाले मल्ल थरकी युवतीसँग विवाह गर्न खोज्दा उक्त घटना भएको हो । जेठ १० मा रुकुम घटनामा दलित युवा पक्षका मानिसमाथि केटी पक्षका मान्छेबाट भएको आक्रमणमा ६ जना मारिएका हुन् । घटनामा नवराज विक, गणेश बुढामगर, टीकाराम नेपाली, लोकेन्द्र सुनार, गोविन्द शाही र सञ्जु विकको ज्यान गएको थियो ।