फिचर

सैन्य गठबन्धनमा बस्ने गरी सहयोग लिँदैनौं : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुने गरी नेपालमा कुनै पनि देश र संगठनबाट सहयोग स्वीकार नगर्ने बताएका छन् । उनले दातृ राष्ट्र वा विकास साझेदारसँग सहयोग लिँदा सैन्य गठबन्धनमा सहभागी हुने शर्तमा सहायता स्वीकार नगरिने उनले बताएका हुन् । नेपालमा अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्ने वा नगर्ने भन्ने विषयमा बहस जारी छ ।

प्रतिनिधि सभामा मंगलबार विनीयोजन विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफमा उनले राष्ट्रहित प्रतिकूल हुने गरी कुनै पनि सहायता स्वीकार नगरिने स्पष्ट पारेका हुन् । उनले विकास निर्माणको काम गर्दा नेपाल कुनै पनि रणनीतिक वा सैन्य गठबन्धनमा सहभागी नहुने बताए । एमसीसीको सन्दर्भमा बहस गर्दा आत्मविश्वासमा कमी देखिएको समेत उनको भनाई थियो ।

ज्ञवालीले वनको बाघले खाओस् नखाओस् मनको बाघले खान्छ भन्ने गरीको भइरहेको छलफलले राष्ट्रिय हित बलियो नबनाउने भन्दै आत्मविश्वास कमजोर नदेखाउन समेत आह्वान गरे । एमसीसीका सम्बन्धमा नेकपाले गठन गरेको अध्ययन समितिमा ज्ञवालीसमेत एक सदस्य थिए ।

उक्त समितिले बीना संशोधन एमसीसी पास हुन नहुने सुझाव दिएको छ । एमसीसी इण्डो प्यासिफिक सैन्य गठनबन्धन अन्तर्गतको एक कार्यक्रम भएको समितिको निष्कर्ष रहेको छ । अमेरिकाले भने यसको खण्डन गरिसकेको छ ।