रोचक खवर

इन्भेष्टमेन्ट बैंकले इटालीमा जित्यो तनहु हाइड्रोको २ अर्ब भुक्तानी मुद्दा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैङ्कले इटालीमा तनहु आइड्रो जलविद्यूत आयोजनाका भुक्तानी मुद्दा जित्न सफल भएको छ । इटालीको अदालतमा करिब दुई अर्ब १० करोड रुपैयाँ बराबरको भुक्तानीसम्बन्धी मुद्दा बैंकले जित्न सफल भएको हो ।

तनहुँ जलविद्युत आयोजनाका लागि राखिएको कार्यसम्पादन जमानत जफत भएपछि इटालियन बैङ्कले नेपाल इन्भेस्टमेन्ट बैङ्कलाई काउन्टर ग्यारेन्टीबापत सो रकम भुक्तानी गर्नुपर्ने इटालीको अदालतबाट फैसला आएको हो । अदालतबाट शुरुमा बैंकको विरुद्धमा फैसला भएको थियो । त्यसलाई उल्ट्याएर पुनः नेपाल इन्भेस्टमेन्ट बैङ्कको पक्षमा फैसला आएको बैंक स्रोतले जानकारी दिएको छ ।

तनहुँ हाइड्रोको इटालियन ठेकेदार को अपरेटिभ मुराटोरी ई केमेन्टिस्टी (सीएमसी)ले स्थानीय अदालत ‘ट्रिबुनाल डी बोलोग्ना’ मा भुक्तानी सम्बन्धि मुद्दा दायर गरेको थियो । सीएमसीले मुद्दा जितेपछि इन्भेस्टमेन्ट बैङ्कले काउन्टर ग्यारेन्टीबापत नेपालमा तनहुँ हाइड्रोलाई दिएको दुई अर्ब रुपैयाँ असुलउपर गर्न सकेको थिएन । तनहुँले ८५ करोड नेपाली रुपैयाँ र ८७ लाख ४९ हजार युरो (एक अर्ब १८ करोड रुपैयाँ) बराबरको ग्यारेन्टी रकमबापतको भुक्तानी इन्भेस्टमेन्ट बैङ्कबाट जफत गरेको थियो ।

शुरुको फैसलामा इटालीयन अदालतले जमानतबापत जफत भएको रकमको काउन्टर भुक्तानी स्थानीय इन्टेसा सानपओलो बैङ्कले इन्भेस्टमेन्ट बैङ्कलाई दिन नपर्ने फैसला गरेको थियो । फैसला उपर इन्भेस्टमेन्ट बैङ्कले अदालतमा अपिल गरेको थियो । अपिलमा सुनुवाई गर्दै बैंकको पक्षमा फैसला आएको हो ।

यो फैसलापछि फसेको बैंकको पैसा फिर्ता हुने बैंकको भनाई छ । सीएससी सोही कम्पनी हो, जुन मेलम्ची खानेपानी आयोजनाबाट भागेको थियो । मेलम्चीबाट कम्पनी भागेपछि तनहुँ जलविद्युत आयोजनाले उक्त कम्पनीसँगको ठेक्का तोडेको थियो । जमानत ठेक्का तोड्दै आयोजनाले इन्भेस्टमेन्ट बैङ्कबाट जमानत जफत गरेको हो ।