फिचर

लघुकथा : नाजवाफ

चालिस बर्ष पार हुॅदै गर्दा स्वस्तिमालाई अचानक देब्रे पट्टीको छाती र कोखा दुखेर आयो । ग्याष्ट्रिक त होलानि भनेर दुई चार दिन सहन सक्नेसम्म सहेर बसी । दुखाई तिब्र हुन थाल्यो । मुटु नै होला भनेर दौडेर हस्पिटल पुगी । धेरै नै खराबी छ जस्तो गरेर उसलाई मुटुका सम्पूर्ण जाॅच गर्न भनियो । डाक्टरले “सरर सबै चेक गरौं पहिले, सबै लुगा खोल्नुस” भन्यो । उ अलि अन्कनाई । डाक्टरले बेस्सरी झपार्यो । “के सोर्ह बर्षे किशोरी जस्तो गर्नु हुन्छ म्याम ? बडो सर्माऊॅदै हुनुहुन्छ । एकै मिनेटले जीउ तल माथि पर्न सक्छ” ।

बाल्यकालमा आमाले, बिहेपछि श्रीमानले र स्तनपान गराउँदा अबोध बच्चा बाहेक अरू कसैले त उसको शरीर देख्ने कुरै हुॅदैन । कहाॅबाट दशा लाग्यो, मन भित्रै ऊ बोली । डाक्टरले शरिरको सबै चेकजाँच फुर्सदले गर्यो । ऊ उपचारमा थिई… चुपचाप ।तत्काल गरिएको ईसीजीमा कुनै खराबी देखिएन ऊ केही ढुक्क भई । म आज घर जान्छु, बरू अरू चेक पछि लिउॅला – उनले भनिन् । “मुटु जस्तो कुरामा खेल्वाड नगर्नुस म्याम  । फेरी केही पर्यो भने म त्यस्तो बिरामी चेक गर्न सक्दिन नि” । मन डरायो, घर नजिकको डाक्टर छाडेर कहाॅ जाने टाढा ? चार, पाॅचवटा थप टेष्ट लिए । पाॅच हजार एकै छिनमा चिलीम । रिपोर्ट लिन अर्को दिन आऊनुस् आजलाई सबै ठीक छ; डाक्टरले सेवा पुरा गर्यो ।

स्वस्तिमाको रिस मरेन । भनिन् “हुन्छ, डाक्टर साब आजलाई त मुटु ठीकै रहेछ । अब कहाॅ जाम खै? कपडा पसलमा जाऊॅ भने सबै बन्द भईसक्यो होला” !  डाक्टर; “भर्खर दुई बज्यो कहाॅ बन्द हुन्छ ? हेर्नुस् बिरामीलाई समस्या भएपछि हामीले पूरापुर चेक त गर्नैपर्यो । तर तॅपाइमा खासै समस्या देखिंदैन, मजाले घुम्न सक्नुहुन्छ” । मैले त्यसो भनेको होइन डाक्टर, चालिस काटेपछि महिलालाई कपडा नचाहिंने रहेछ । शरिरको लज्जा सहज बनाईंदो रहेछ । सारा कपडा पसल बन्द गरे भयो अब” । किशोरीहरूलाई जाँच्ने निहुॅमा हात्पात गर्न पल्केको डाक्टरको मुखबाट कुनै उत्तर निक्लन सकेन…

रश्मी भट्ट

न्यूयोर्क