समाचार

ललितपुरमा घाटी रेटेर युवकको हत्या, धनुषमा गोली हानेर मारियो

काठमाडौं । पछिल्लो समय नेपालमा ऋंखलावद्ध रुपमा आपराधिक घटनामा वृद्धि भएको छ । सोमबार राती रुपन्देहीमा ५ जनाको सामुहिक हत्या भएको भोलीपल्ट ललितपुर र धनुषामा समेत एक\एक गरी राती दुई जनाको हत्या भएको प्रहरीले जनाएको छ ।

मंगलबार राती ललितपुरको गोदावरी नगरपालिका, टौखेलमा एक जना युवक मृत भेटिएका छन् । उनी फ्रेस हाउस सञ्चालक भएको प्रहरीले जनाएको छ । २५ वर्षीय अमित शाहीको घाटी र हातमा गहिरो चोट देखिएको छ । घटनास्थलमा मासु काट्ने हतियार भेटिएको भन्दै प्रहरीले हत्यामा सोही हतियार प्रयोग भएको हुन सक्ने आंशका समेत गरेको छ ।

घटनामा बुधबार बिहानसम्म कुनै पनि व्यक्ति पक्राउ भने परेका छैनन् । उता, धनुषामा समेत गतराती एक युवकको हत्या भएको छ । घरमै रहेका वेला राती घर बाहिर लगि गोली हानिएको प्रहरीले जनाएको छ ।

सबैला नगरपालिका–७ मका २५ वर्षीय अरुण मण्डललाई घर बाहिर बोलाएर हत्या गरिएको हो । परिवारका अनुसार घरमा चिनजान भएकै व्यक्तिले उनलाई घर बाहिर बोलाएका थिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।