समाचार

सडक अनुशासनको अभावले निम्त्यायो भयानक दूर्घटना

सुर्खेत । बुधबार बिहान कालिकोटको लालीघाटमा एक टिपर दूर्घटनामा पर्यो । दूर्घटनामा २ जनाको घटनास्थलमै ज्यान गयो । कयौं बगे । बगेका मध्ये ८ जना घाइते अवस्थामा उद्दार भयो । २ जना अझै वेपत्ता छन् । टिपरमा ३९ जना यात्रु चढेका थिए । उनीहरु सबै भारतबाट मजदुरी गरी कोरोना भाइरसको सन्त्रासका बीच घर फर्किएका मजदुर थिए ।

टिपरमा दुधे बच्चादेखि महिला तथा बालबालिका समेत थिए । प्रहरीका अनुसार यो दूर्घटनामा यात्रु र सवारी चालक दुबैले सवारी अनुसन्धानको गम्भीर उल्लंघन गरेको पाइएको छ । दुर्घटनामा टिपर चालकको भूमिका थियो । अर्थातः चालकले जानाजान टिपर नदीमा हुलेका थिए । आफु भने भागेका थिए ।

यो अवस्था आउनुमा भने यात्रु र चालकबीचको झगडा भएको पाइएको छ । यात्रुसँग चालकको हात हालाहालसम्मको झगडा भएको प्रहरीले बताएको छ । तर, त्यसपछि गाडी चलाएका चालकले टिपरको स्टार्ट बन्द नगरी छोडेपछि टिपर खोलामा खसेको थियो ।

ठाउँ बाटोमा अति कोचाकोच गरेर जाँदा बालबालिकालाई गाह्रो भएको गुनासो यात्रुले गरेका थिए । तर, चालकले नमानेपछि यात्रु हातपातमै उत्रिएका थिए । प्रहरीका अनुसार अनुसार टिपर कर्णाली करिडोरस्थित सडकबाट करिब ३० मिटर तल नदीमा खसेको छ ।

चल्दाचल्दैको टिपर छाडेर भागेका चालक रास्कोट–८ का रंगनाथ धमाला प्रहरीको नियन्त्रणमा छन् । उनीलाई कालिकोटकै सान्नीगाडबाट पक्राउ गरिएको हो । धेरै मानिसलाई एउटै टिपरमा कोचाकोच गर्न खोजिएपछि विवाद भएको यात्रुले बताएका छन् ।

भारतबाट आएका १३ महिला र २६ पुरुषलाई लालीघाट क्वारेन्टाइनमा राख्न टिपरमार्फत ओसारिएको हो । यस दूर्घटनामा गम्भीर घाइते २ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएकामा त्यहाबाट काठमाडौं रिफर गरिएको छ । उनीहरुको काठमाडौंमा उपचार भइरहेको छ ।

घटनास्थलमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नै पुगेका थिए । दुर्घटनामा मृत्यु हुनेमा रास्कोट नगरपालिका–२ का २१ वर्षीया शर्मिला सार्की र २१ वर्षीया ठम्की साार्की छन ।