फिचर

१७ जुनमा अमेरिकाबाट नेपालीलाई घर फर्काइँदै, कहिले कहाँबाट हुँदैछ रेस्क्यू उडान (विस्तृतमा) ?

काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि विदेशका विभिन्न गन्तब्यमा अलपत्र नेपालीको उद्दारको काम आजबाट पुनः शुरु हुँदैछ । आज कुवेतबाट दुई वटा जहाजमा महिला श्रमिक काठमाडौं आउँदैछन् । उनीहरुलाई जजिरा एयरवेजका दुई उडानले काठमाडौं छाड्नेछ । लकडाउन तथा व्यवसायिक उडान बन्द भएपछि विदेशमा समस्यामा परी अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा उद्दार थालिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशमा हुने रेस्क्यू उडानको तालीका तय गरेको छ । तालिका अनुसार राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स र निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सलाई नेपालबाट परिचालित गरिनेछ । यसबाहेक विदेशी जहाजले समेत नेपालीलाई उद्दार गरी काठमाडौं ल्याउँदैछन् । नेपाल एयरलाइन्सका वाइडबडी र न्यारोबडी दुवै प्रकारका जहाज लामो र छोटो दूरीमा प्रयोग हुँदैछन् ।

हिमालय एयरलाइन्ससँग न्यारो बडी जहाज रहेका छन् । बिहीबार कुवेतबाट करिब ३ सय महिला श्रमिक नेपाल आइरहेका छन् । मन्त्रालयका अनुसार रेस्क्यू उडानका दौरान नेपाल एयरलाइन्सले २४ र हिमालय एयरलाइन्सले १९ वटा उडान गर्ने भएका छन् ।

 

 

यसबीचमा थप २४ वटा विदेशी एयरलाइन्सले नेपालमा नेपालीलाई छाड्नेछन् । मन्त्रालयको तालीका अनुसार बंगलादेशको ढाकाबाट जुन १४ तारिखमा दुई वटा उडान हुने भएको छ । यी दुवै उडानमा उतैबाट जहाज आउनेछ ।

जुन १५ मा नेपाल एयरलाइन्स माले र क्वालालम्पुर जानेछ । उक्त दिन हिमालय एयरलाइन्स साउदी अरब र सिंगापुर जानृ तय भएको छ ।

जुन १६ मा युएई र कतारमा नेपाल एयरलाइन्स जानेछ । सो दिन कुवेत, श्रीलंका र मालेबाट नेपाली ल्याउन हिमालय एयरलाइन्स जाने भएको छ ।

जुन १७ मा अष्ट्रेलिया, बैंकक र बहराइनमा नेपाल एयरलाइन्स जाने तय भएको छ । उक्त दिन हिमालय एयरलाइन्स बंगलादेश र कतार जानेछ ।

जुन १७ मा अमेरिकाबाट एक विदेशी एयरलाइन्स आउनेछ । जुन १८ मा नेपाल एयरलाइन्स साउदी र युएई जानेछ । उक्त दिन हिमालय एयरलाइन्स क्वालालम्पुर र मस्कट जानेछ ।

जुन १९ मा जापान र कुवेतबाट नेपाल एयरलाइन्सले नेपालीलाई ल्याउनेछ । साउदी र नाइजेरीयाबाट हिमालय एयरलाइन्सले नेपालीलाई फिर्ता ल्याउने तरी उडान तय भएको छ ।

२० जुनमा साइप्रस, क्वालालम्पुर र कतारबाट नेपाल एयरलाइन्सले उडान गर्नेछ । सो दिन हिमालय एयरलाइन्सले युएई र बंगलादेशबाट नेपालीलाई फिर्ता ल्याउने भएको छ । २० जुनमा यूरोपबाट विदेशी कम्पनी नेपाल आउने छ ।

२१ जुनमा दक्षिण कोरिया र मस्कटमा नेपाल एयरलाइन्स जानेछ । सो दिन हिमालय एयरलाइन्स भने कुवेत र क्वालालम्पुर जानेछ ।

२२ जुनमा अष्ट्रेलिया र बैंककबाट नेपाल एयरलाइन्सले नेपालीलाई ल्याउनेछ । पाकिस्तान र कतारमा हिमालय एयरलाइन्स पठाइने भएको छ ।

२३ जुनमा जापानको नारिता र मालेबाट नेपाल एयरलाइन्स जानेछ । युएई र युगान्डाबाट हिमालय एयरलाइन्सले उडान गर्ने तालिका तय भएको छ ।

२४ जुनमा नेपाल एयरलाइन्सको मात्र फ्लाइट छ । सो दिन नेपाल एयरलाइन्सले साउदी र कुवेतका नेपालीहरुलाई उद्धार गर्ने छ ।

२५ जुनमा नेपाल एयरलाइन्स फेरी जापान पुगेर थप नेपालीलाई घर ल्याउनेछ । यो दिन हिमालय एयरलाइन्स साइप्रस\इजरायल जाने भएको छ ।