स्वास्थ्य

गण्डकीमा शुक्रबार बिहान थपिए ३७ संक्रमित

पोखरा । गण्डकी प्रदेशमा शुक्रबार बिहान ३७ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र पूर्वी नवलपरासीमा एक–एक जना कोरोना संक्रमित पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । यी सबै पुरुष रहेको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको छ ।

गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले दिएको जानकारी अनुसार स्याङ्जाको गल्याङ नगरपालिकामा सबैभन्दा धेरै १८ जना संक्रमित फेला परेका छन् ।

उनीहरु १५ देखि ६६ वर्ष उमेर समूहका छन् । वालिङ नगरपालिकामा २ जना र अर्जुनचौपारी गाउँपालिकामा ३ वर्षीय एक जना बालकमा पनि कोरोना पुष्टि भएको छ । स्याङ्जाकै तर स्थानीय तह नखुलेको अर्का एक जना ४ वर्षीय बालकमा पनि कोरोना संक्रमण देखिएको छ ।

पर्वतको कुश्मा नगरपालिकामा ८ जना तथा पैंयु गाउँपालिका र बिहादी गाउँपालिकामा एक–एकजना संक्रमित फेला परेका छन् । पर्वतकै अर्का एक जना संक्रमितको पनि स्थानीय तह खुलेको छैन ।

तनहुँको घिरिङ गाउँपालिका र पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका एक–एक जना युवक पनि कोरोना देखिएको छ ।