समाचार

चुनाव हारें भने शान्तिपूर्णरुपमा ह्वाइट हाउस छाड्छु; राष्ट्रपति ट्रम्प

न्युयोर्क     

राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा पुन: निर्वाचित हुन नसके शान्तिपूर्णरुपमा  ह्वाइट हाऊस छोड्ने बताएका छन् । शुक्रबार फक्स न्युज टेलिभिजनसँगको अन्तर्वार्तामा उनको सम्भावित प्रतिद्वन्दी जो बाईडेनले ब्यक्त गरेको बिचार माथि खनिंदै उक्त प्रतिकृया दिएका हुन् । पूर्व उपराष्ट्रपति तथा डेमोक्र्याटिक दलबाट राष्ट्रपतिका सम्भावित उम्मेद्वार जो बाईडेनले नोभेम्बरको निर्वाचनमा पराजित भएमा पनि राष्ट्रपति ट्रम्पले सजिलै व्हाईट हाऊस नछोड्ने हुँदा सेनाले बल प्रयोग गरेर निकाल्नु पर्ने शंका यस अगाडि ब्यक्त गरेका थिए । ट्रम्पले बाईडेनको त्यही शंका माथि कार्यक्रम प्रस्तोता ह्यारिस फल्कनरको प्रश्नमा प्रतिकृया दिंदै ह्वाईट हाऊसस्थित ओभल अफिस शान्तिपूर्णरुपमा छोड्ने बताउँदै उनले त्यही प्रसँगमा जोडे; “तर हाम्रो देशको लागि धेरै ठुलो दु:खको कुरा हुने छ”  । टेलिभिजन अन्तर्वार्ताका क्रममा ट्रम्पले बाईडेनलाई साँचुअरी सिटी (आरक्षित सहर) मा भूमिगत रुपमा लुकिरहेको आरोप लगाउँदै भनें; “ऊ आफु बाहिर आउन सक्दैन लुकेर बस्छ” ।

पूर्व उपराष्ट्रपति बाईडेन जारी कोरोना महामारीका कारण लागू भएको भ्रमण प्रतिबन्ध र राज्य बन्दका कारण आफ्नै निवासको बेसमेन्टबाट आगामी राष्ट्रपति निर्वाचनको प्रचार प्रसार गर्दै आएका छन् । राष्ट्रपति ट्रम्पले भने आगामी जुन २० तारिखदेखि ओक्लोहामा राज्यबाट आफ्नो चुनावी सभा सुरु गर्ने घोषणा गरी सकेका छँन् ।