फिचर

सात वटै प्रदेशले ल्याए बजेट, रोजगारी सिर्जना र कृषि प्राथमिकतामा-स्वास्थ्य पूर्वाधारमा जोड

काठमाडौं । सोमबार सात वटै प्रदेशले आगामी आर्थिक वर्ष २०७७\७८ को बजेट सार्वजनिक गरेका छन् । कृषिको व्यवसायिकरणबाट रोजगारी सिर्जना, स्वास्थ्य पूर्वाधारको विकास र सुदृढिकरण तथा कोरोना रोथथामलाई प्राथमिकता दिँदै प्रदेश सरकारको बजेट आएको छ । सात प्रदेशबाट कुल २ खर्ब ६४ अर्ब रुपैयाँको बजेट सार्वजनिक भएको छ । यसमा सबैभन्दा ठूलो बजेट बागमति प्रदेशले ल्याएको छ ।

सानो बजेट भने कर्णाली प्रदेशको रहेको छ । गत वर्ष २ खर्ब ५९ अर्ब रुपैयाँको बजेट आएकोमा यस वर्ष बजेट सामान्य बढेको छ । प्रदेश सरकारको जोड कृषिमा अनुदान र सहुलियतपूर्ण ऋणमा देखिएको छ । बागमति प्रदेशले यस वर्ष दूधमा दिँदै आएको अनुदानलाई दोब्बर बनाएको छ ।

अब प्रतिलिटर दुई रुपैयाँ अनुदान पाइने भएको छ । पूँजिगत खर्चलाई अधिकांश प्रदेशले प्राथमिकतामा राखेका छन् । चालु खर्चमा भने कैची लगाउने प्रयास गरेका छन् । यसक्रमा कर्णाली प्रदेशले विभिन्न प्रकारको भत्ता कटौतीको घोषणा गरेको छ । प्रदेश सरकारले आगामी वर्ष एम्बुलेन्सबाहेक अन्य सवारी किन्ने छैन ।

नयाँ संरचना निर्माणमा समेत बजेट नराखिएको प्रदेश सरकारको बजेट भाषणमा उल्लेख गरिएको छ । प्रदेश नं १, २ र सुदुरपश्चिम प्रदेशमा सांसदले बजेट पाएका छन् । गण्डकी प्रदेशले यस्तो रकम कोरोना रोकथाम र नियन्त्रणमा खर्च गर्ने बताएको छ ।

आगामी आवका लागि बागमती प्रदेशले ५१ अर्ब ४२ करोड रूपैयाँको बजेट ल्याएको छ। सुदूरपश्चिम प्रदेशको बजेट ३३ अर्ब ३८ करोड रूपैयाँ रहेको छ । कर्णाली प्रदेशको ३३ अर्ब ७४ करोड रूपैयाँ रहेको छ । प्रदेश नं ५ को ३६ अर्ब ३५ करोड, गण्डकी प्रदेशको ३४ अर्ब ८४ करोड र प्रदेश नं २ ले ३३ अर्ब ५६ करोड रूपैयाँको बजेट ल्याएका छन् ।