फिचर

आज ओमानबाट काठमाडौं आए १ सय ६६ नेपाली

काठमाडौं । सोमबार ओमानबाट १६६ नेपाली घर फर्किएका छन् । कोराना भाइरसको महामारीसँगै उत्पन्न संकटका बीच अहिले नेपालीको उद्दारको काम जारी छ । सोहीक्रममा ओमानबाट नेपालीलाई घर ल्याइएको हो । सलाम एअरको उडान नम्बर ओभी ४२७ मार्फत नेपाली घर आएका छन् । ओमानबाट एउटा शव पनि ल्याइएको छ ।

समस्यामा परेका नेपालीलाई प्राथमिकताको आधारमा त्यहाँ रहेको नेपाली दूतावासले सलाम एअरमार्फत स्वदेश पठाएको हो । सरकारले हिमालय र नेपाल एअरलाइन्समार्फत नेपालीको स्वदेश फिर्ता गराउने भनेको भएपनि विदेशी एयरलाइन्सले सस्तोमा उडाउन तयार भएपछि नेपाल ल्याइएको बताइएको छ ।

ओमानबाट फर्कने सबै नेपालीको पीसीआर जाँच गराएरै पठाइएको ओमानस्थित नेपाली दूतावासले जनाएको छ । पीसीआर जाँच गरेर फर्किएकाले उनीहरु सिधै होम क्वरेण्टीनमा जान पाउनेछन् ।

कतिपय नेपालीले आफैंले स्वदेश फर्कने टिकट काटेका छन् भने कतिपयलाई कम्पनीले टिकट काटिदिएको छ । समस्यामा परेका १३ जना महिलालाई भने दूतावासले नै खर्चको व्यवस्थापन गरेर पठाएको हो । सलाम एयरको दोस्रो उडान असार ४ मा हुँदैछ । यो उडानमार्फत १८० जना नेपाली स्वदेश फर्कने भएका छन् ।