समाचार

भारत-चीन सीमा विवाद: दुई देशका सेनाबीच भिडन्त, तीन भारतीय सैनिकको मृत्यु

काठमाडौं । भारत र चीनको बीच चर्किएको सीमा विवाद झडपमा रुपान्तरण भएको छ ।

बीबीसी हिन्दीका अनुसार सोमवार राति दुईदेशको सेनाबीच भिडन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारी र दुई सैनिकको मृत्यु भएको पुष्टि गरेको छ।

भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ। यो क्षेत्रमा ५३ वर्षपछि गोली चलेको छ ।

भारत र चीनबीच यो क्षेत्रमा ५३ वर्षअघि सन् १९६७ मा गोली चलेको थियो । त्यसयता विवादहरु भइरहे पनि फायरिङ भने भएको थिएन ।

यसअघि १९६७ को सेप्टेम्बर ११ मा सिक्किमको नाथू(लामा भारत र चीनबीच हिंसात्मक झडप भएको थियो । यसपछि १५ सेप्टेम्बर १९६७ मा पनि झडप भएको थियो ।

त्यही वर्षको अक्टोबरदेखि विवाद समाधान भएको थियो । त्यतिबेला चीनका ३२ जना र भारतीय ६५ सैनिक मारिएका थिए । त्यस्तै चो ला झडपमा पनि भारतका ३६ जवानहरु मारिएका थिए ।

चीनले आफ्नो ३८,००० वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतको आरोप छ।

सीमाबारे दुई पक्षले तीन दशकमा पटकपटक वार्ता गरेका भए पनि कुनै समाधान फेला पारेका छैनन्।

गत मे महिनामा दुई देशका सेनाबीच सिक्किमको सीमामा हात हालाहाल भएको थियो।