समाचार

कोरोना संक्रमित संख्यामा नयाँ रेकर्ड राखे तीन वटा अमेरिकी राज्यले

अमेरिकाको तीन वटा राज्यमा पहिलो पटक अहिले सम्मकै उच्च संख्यामा कोरोना संक्रमित भेटिएका छन् । एरिजोना, फ्लोरिडा  र टेक्सस राज्यले कोरोना संक्रमितको संख्यामा लगातार उकालो लाग्दै अहिलेसम्म कै उच्च संख्यामा पुगेको हो । एरिजोनामा अहिलेसम्मकै उच्च २४ सय जनामा एकै दिन संक्रमण देखिएको छ । त्यहाँ हालसम्म ३९ हजार संक्रमित भएका छन् । टेक्ससमा ९ दिनमा लगातार संक्रमितको संख्या ८ औं पटक मंगलवार पनि उकालो चढ्दै २६ सय २२ नयाँ संक्रमित भेटिएका छन् भने २५ सय १८ जना अस्पताल भर्ना भएका छन् । एकै दिन संक्रमितको यो संख्या टेक्ससमा अहिलेसम्म कै उच्च हो । यध्यपी बढदो  कोरोना संक्रमितको संख्यालाई गभर्नर ग्रेग अबोटले ‘चासोको कुरा त हो तर चिन्तित हुनु पर्ने बिषय भने नभएको’ प्रतिकृया दिएका छन्  । टेक्ससमा गत मेई १ तारिखदेखि नै उत्साहका साथ अर्थतन्त्र खुला गरिएको थियो । टेक्ससमा बुधाबारसम्म ९३ हजार २ सय ९३ जना संक्रमित र २ हजार ४७ जनाको मृत्‍यु भै सकेको छ । फ्लोरिडामा संक्रमितको संख्या लगातार १५ दिनदेखि उकालो लागि रहेको छ । फ्लोरिडामा मंगलवार एकै दिन २७ सय ८३ जना नयाँ संक्रमित देखिए ।  फ्लोरिडामा ८२ हजार ७ सय १९ संक्रमित र ३ हजार १८ जनाको मृत्‍यु भै सकेको छ ।

अमेरिका भरको संक्रमितको संख्याको ३० प्रतिशत र मृतकको संख्याको ४२ प्रतिशत  हिस्सा ओगटेको न्युयोर्क, न्युजर्सी र कनेक्टिकटमा कोरोना संक्रमणमा उल्लेख्य सुधार देखिएको छ । अमेरिकामा २१ लाख संक्रमित र १ लाख १७ हजारको मृत्‍यु भै सकेको जोन हप्किन्स युनिभर्सिटीले जनाएको छ ।  

एजेन्सी