समाचार

नेपालको नयाँ नक्साले पायो वैधानिकता

काठमाडौं । नेपालको नयाँ नक्साले वैधानिकता प्राप्त गरेको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई राष्ट्रपतिले प्रमाणिकरण गरेसँगै नक्साले संवैधानिक मान्यता पाएको हो । निशान छापमा लिम्पियाधुरासहितको नयाँ नक्सा अद्यावधिक गर्न सरकारले संविधान संशोधन विधेयक ल्याएको थियो ।

यो विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएपछि प्रमाणिकरणका लागि विधेयक राष्ट्रपति समक्ष पुगेको थियो । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयकलाई प्रमाणीकरण गरेकी छिन् ।

प्रतिनिधि सभाबाट ३१ जेठमा सर्वसम्मत पारित भएको विधेयकलाई राष्ट्रिय सभाले बिहीबार सर्वसम्मतिले पारित गर्यो । राष्ट्रिय सभाबाट पारित भएपछि फेरी प्रतिनिधिसभा पुगेको विधेयक बिहीबार सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिसमक्ष पठाएका हुन् ।

सरकारले जेठ ५ मा लिम्पियाधुरासहितका क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा मन्त्रिपरिषद‍्बाट पास गरेको हो । जेठ ७ मा नयाँ नक्सा सार्वजनिक गरिएको थियो ।