समाचार

आफ्ना पूर्व सल्लाहकारको किताब प्रकाशन रोक्न माग गर्दै ट्रम्प अदालतमा

न्यूयोर्क

अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले आफ्ना पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको किताब प्रकाशन रोक्न माग गर्दै अदालतको ढोका ढक्ढक्याएका छन् । ट्रम्पका तर्फबाट महान्यायाधिवक्ता कार्यालयले वासिंटन डिसी जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

बोल्टनले किताबमा बिना अनुमती गोप्य (क्लासिफाइड) सूचनाहरु राखेको ट्रम्प प्रशासनको आरोप छ । तर, ट्रम्पले सार्वजनिक रुपमा भने बोल्टनले किताबमा झुठो विवरण लेखेको दावी गरेका छन् । आलोचकहरुले भने ‘यदि झुठो विवरण उल्लेख गरेको भए क्लासिफाइड सूचनाको बहाना देखाएर किन प्रकाशनमा अवरोध गर्न खोजेको त’ भनि ट्रम्पलाई प्रतिप्रश्न गरेका छन् । वासिंटन पोष्ट सम्पादकीय बोर्डले ट्रम्पले स्वतन्त्र अभिव्यक्तिको हक माथि हस्तक्षेप गर्न खोजेको आरोप लगाएको छ ।

यस अघि संसदमा ट्रम्प विरुद्ध महाभियोग प्रस्ताव चल्दा बयान दिन अश्विकार गरेका बोल्टनले किताबमा गम्भिर घटनाहरु उजागर गरेका छन् । उनका अनुसार ट्रम्पले दोस्रो कार्यकालका लागि राष्ट्रपतिय चुनावमा सघाउन चीनियाँ समकक्षि सि जिनफिङलाई गुहार मागेका थिए । गत बर्ष जापानको ओसाकामा सम्पन्न जी २० को बैठकमा ट्रम्पले चीनले अमेरिकाबाट कृषिजन्य उत्पादनको आयात बृद्धि गरिदिए आफुलाई निर्वाचित हुन सहयोग पुग्ने भन्दै याचना गरेको बोल्टनको किताबमा उल्लेख छ । दुई राष्ट्रपतिबीचको एक्लाएक्लै भेटमा जिनफिङले कुराकानीको सुरुवात गर्दै ट्रम्प समक्ष अमेरिकामा चीन बिरोधी धारणाबारे गुनासो राखेका थिए । जवाफमा ट्रम्प डेमोक्र्याटहरुले चीन विरोधी धारणा बढाएको भन्दै आफ्ना प्रतिद्वन्दिप्रति क्रुद्ध भएको बोल्टनले उल्लेख गरेका छन् ।

त्यस लगत्तै ट्रम्पले चुनावी कुरा झिकेको र आफुलाई जिताउने आर्थिक सामर्त्य चीनसँग रहेको भन्दै ट्रम्पले भटमास र गहुँको आयात बढाइदिन अनुरोध गरेका थिए । ट्रम्पले जिनफिङसँग बोलेको शब्दनै आफुलाई ज्ञाँत भएपनि सरकारको (किताव) प्रकाशन पुर्वको समिक्षाका कारण त्यसो गर्न नसकेको बोल्टनले उल्लेख गरेका छन् । चीन मात्र नभइ रसिया, युक्रेन, उत्तर कोरिया लगायतका डिलमा ट्रम्पका कमजोरी बोल्टन आफ्नो किताब ‘द रुम ह्वेर इट ह्यापेन्ड’ मा खुलाएका छन् । उनको किताब आउँदो साता प्रकाशनको तयारी थियो । अब अदालतको आदेशले प्रकाशनलाई प्रभाव पार्न सक्नेछ । कानूनी जानकारहरु भने अदालतले किताब प्रशासनमा अवरोध नगर्ने नजिर रहेको बताइ रहेका छन् ।

(तस्वीरः ब्लुमबर्ग डट कम)