समाचार

शुक्रबार काठमाडौं उतारियो विदेशमा मृत्यु भएका २३ नेपालीको शव

काठमाडौं । शुक्रबार त्रिभुवन विमानस्थल केहीबेर शोकमग्न भयो । किनकी शुक्रबार एकै उडानबाट २० वटा शव त्रिभुवन विमानस्थलमा झारियो । कतारको दोहाबाट कतार एयरवेजले २५ जना नेपाली यात्रुको साथमा कार्गोमा २० नेपालीको शव काठमाडौं ल्याएको हो ।

नियमित उडान बन्द भएपछि विदेशमै रोकिएका शव नेपाल झारिएको हो । शुक्रबार नै साउदीबाट एक र कुवेतबाट २ जना नेपालीको शव काठमाडौं आएको छ । विदेशमा अलपत्र परेका नेपालीको उद्दारको काम अहिले धमाधम भइरहेको छ ।

यसै क्रममा आउने चार्टर्ड उडानमा शवहरु समेत ल्याउन लागिएको हो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार चार्टर्ड उडानबाट विदेशमा अड्किएका सबै शव नेपाल ल्याउने योजना छ । त्यसपछि उनीहरुको पहिचानसागै आआफ्नो गृह जिल्ला पठाइने छ । यसको खर्च भने बोर्ड आफैले बेहोर्छ ।

शवलाई विदेशबाट नेपाल ल्याउने र काठमाडौंबाट जिल्ला पुर्‍याउनेसम्मको खर्च व्यवस्थापन बोर्डले गर्छ । शुक्रबार आफन्तको शव आउने दिन विमानस्थलमा भिड देखिएको थियो ।