समाचार

एमसीसीतर्फ संकेत गर्दै प्रचण्ड भन्छन् : सैन्य गठबन्धनसँग सम्बन्धित विदेशी सहायता अस्वीकार्य

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहायता स्वीकार गर्ने वा नगर्ने भन्ने सम्बन्धमा विवाद भइरहेका बेला सैन्य गठबन्धनसँग जोडिने कुनै पनि विदेशी सहयोग नेपालले स्वीकार नगर्ने बताएका छन् । एमसीसी सैन्य गठबन्धनको एक पाटो भएको नेकपा कार्यदलले निष्कर्ष निकालेको थियो ।

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) बीच शुक्रबार राजधानीमा संयुक्त भर्चुअल कार्यशाला सम्पन्न भयो । कार्याशालालाई शुक्रबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयबाट सम्बोधन गरेका प्रचण्डले नेपालले सैन्य गठबन्धनका लागि वितरण गरिएका कुनै पनि सहायता स्वीकार नगर्ने उल्लेख गरे ।

नेपाल विकासको चरणमा रहेको भन्दै उनले यसबेला ठूलो सहयोग आवश्यक रहेको बताए । तर, सहयोगको नाममा नेपाल कुनै पनि सैन्य गठबन्धनमा भने जोडिन नसक्ने स्पष्ट पारे । नेकपाभित्र अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) स्वीकार गर्ने वा नगर्ने भन्ने विषयमा गम्भीर विवाद कायम छ ।

एमसीसी अमेरिकी इन्डो प्यासिफिक सैन्य रणनीतिको एक भाग रहेको नेकपाका नेताहरु नै बताउँछन् । नेकपामा प्रचण्डले एमसीसीबारे ठोस धारणा सार्वजनिक गरेका छैनन् । नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने एमसिसी जसरी पनि पास गर्ने पक्षमा छन् । उनी पार्टीमा एमसीसीको पक्षमा बहुमत जुटाउने प्रयासमा छन् ।

शुक्रबार पनि अध्यक्ष दाहालले एमसीसी र अमेरिकाको नाम भने लिएनन् । तर, उनको संकेत संशोधन बीना एमसीसी पास नहुने भन्नेमै थियो । नेपालले असंलग्न विदेश नीति अवलम्बन गर्दै आएको उनले स्मरण गरे ।

नेपालको संविधानसँग बाझिने गरी, कुनै पनि पनि सैन्य गठबन्धनमा आवद्ध हुनुपर्ने सहयोग नेपाललाई स्वीकार्य हुन नसक्ने उनको भनाई छ । उनले नेपाल दुबै छिमेकीसँग द्वन्द्व नचाहेको समेत स्ष्ट पारे ।

नेपाल र भारतबीचको सीमा विवादबारे बोल्दै उनले छिमेकीहरुसँगको विवाद समाधानमा नेपाल वार्ताको पक्षमा रहने उल्लेख गरे । उक्त बैठकमा नेकपा स्कुल विभाग प्रमुख तथा रक्षामन्त्री ईश्‍वर पोखरेल पनि सहभागी थिए । उनले कोभिड(१९ नियन्त्रणमा चीनले गरेको सहयोगप्रति धन्यवाद दिए।