समाचार

थप १७६ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या १५७८

काठमाडौं  । पछिल्लो २४ घण्टामा थप १७६ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न स्थानका अस्पतालबाट उनिहरु संक्रमणमुक्त भएका हुन् । मन्त्रालयको अध्यावधिक विवरणअनुसार सिराहा अस्पतालबाट २६ जना र आइसोलेशन सेन्टर बाँकेबाट ५४ जना जनाले कोरोना जितेको छन् ।

कोशी अस्तपाल विराटनगरबाट ११ जना, सल्यानका ११ जना, सुर्खेतका १३ जना, दाङका ५ जनासमेत उपचार पछि निको भएर घर फर्किएका हुन्।

यस्तै, डडेल्धुराका २ जना, अछामका ५ जना, दार्चुलाका २ जना, डोटीका ९ जना, धनगढीमा उपचाररत ८ जना, कैलालीको टीकापुरमा उपचाररत ४ जना, कैलालीकै १ जना, कञ्चनपुरका ६ जना, कैलालीकै ८ जना, चितवनमा उपचाररत ३ जना र नवलपरासी पूर्वमा उपचार गरी निको भएर ४ जना घर फर्कीएको मन्त्रालयले जानकारी दिएको हो।

डिस्चार्ज हुनेमा १८ महिला र १५८ जना पुरुष रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

योसहित नेपालमा हालसम्म १ हजार ५ सय ७८ जना उपचारपछि निको भएका छन्।

नेपालमा हालसम्म २२ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।