समाचार

अमेरिकास्थित युनाइटेड किराँत राई अर्गनाइजेसनले कोभिड महामारीकै बीच सम्पन्न गर्‍यो वार्षिक साधारण सभा

सुरेश चाम्लिङ्, न्यु-ह्यम्सायर  

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले आफ्नो वार्षिक साधारण सभा भर्चुअल्ली सम्पन्न गरेको छ ।  अर्गनाईजेसनले सभापति मुना राईको सभापतित्वमा जुमको प्रयोग गर्दै आफ्नो साधारण सभा सम्पन्न गरेको हो । गत जुन १४ तारिख आईतबारका दिन सम्पन्न साधारण सभामा सहभागी समुदायका सदस्यहरुले संस्थाको गतिविधि र संस्थाले आगामी दिनमा खेल्नु पर्ने भूमिकाका सम्बन्धमा बिचार व्यक्त गरेका थिए । प्रमुख अतिथिका रुपमा जनजाती महासंघ अमेरिका (फिप्ना) सभापति लोक चेम्जोङ्गले अमेरिकामा बस्ने आदिवासी जनजातीहरुले आफ्नो चासो र सरोकारको बिषय भन्दै उनले संस्कृत भाषालाई मृत भाषाको संज्ञा दिदै नेपालको बिद्यालयमा संस्कृत पढाउने सरकारी निर्णयले अन्य मातृ भाषाका बिद्यार्थीहरुलाई अन्याय हुने बताएका थिए ।  सरकारको त्यो निर्णयले सरकारी कोष एक भाषाको उत्थानमा मात्र खर्च गर्ने हुँदा अन्य भाषा अन्यायमा पर्ने उनको भनाई थियो । 

बोर्ड सल्लाहकारहरु शिब कुमार राई, धौल बिर राई, बिष्णु राई, चुना राई, मिलन राई, प्रभाकर राई, तेज राई, श्यामा राई, सुरेश चाम्लिङ्ग लगायतले बिदेशमा समुदायको हितमा संस्थाको गरिमा र भूमिकाको बिषयमा आ-आफ्नो धारणा रखेका थिए । 

कार्यक्रम अन्तर्गत विभिन्न स्कुल तथा कलेजबाट यो वर्ष ग्राजुएट हुने बिद्यार्थीहरुलाई सम्मान ब्यक्त गर्दै परिचय गराईएको थियो भने कराँतेका अन्तर्रास्ट्रिय रेफ्री पर्खि खालिङ्ग राईलाई सम्मान ब्यक्त गरिएको थियो ।

सभामा लोकल च्याप्टर सभापतिहरु डिएमभीपी सभापति प्रकाश राई, क्यालिफोर्निया सभापति जोर बीर राई, न्यु इंग्ल्याण्ड सभापति मुक्ति नारायण राई र न्युयोर्क सभापति केशब राम राईले संस्थाको गतिविधि सम्बन्धमा प्रकाश पारेका थिए ।केन्द्रीय समिति तथा स्थानीय च्याप्टरहरुले  वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  बार्षिक प्रतिवेदनमा संस्थाले किरात प्रदेशको लागि नेपाल सरकारलाई बुझाएको ज्ञापन पत्र, सिक्किमका पुर्व मुख्य मंत्री पवन चाम्लिङ्गसंगको न्युयोर्कमा भेटघाट छलफल, कोभिड-१९ मा बिभिन्न व्यक्तिहरुलाई सहयोग गर्नुको साथै नेपालबाट अमेरिकामा आएर एफ-१ भिसामा रहेका बिद्यार्थीहरुलाई नगद सहयोग, रक्तदान, यलम्बर नाइट लगायतको कार्यहरुको समिक्षा गरिएको थियो ।  

सभाको अन्त्यमा सभा बिसर्जन गर्दै सभापति मुना राइले मानव जीवनको महत्व पूर्ण पाटो शिक्षा नै भएको हुनाले आजको युवाहरुले शिक्षामा नै जोड दिनुको साथै मानव बिकासको लागी आफ्नो संस्कार संस्कृति समेत जगेर्ना गर्न उत्तिकै आवस्यकता रहेको बताएकी थिईन ।