विज्ञान प्रविधि

आज खण्डग्रास सूर्यग्रहण, नेपालबाट ९८ प्रतिशतसम्म देखिने

काठमाडौं । नेपालमा आज खण्डग्रास सूर्यग्रहण लाग्दैछ । नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट सूर्यग्रहण सुरु हुने भएको छ । यो ग्रहण अपराह्न दुई बजेर २४ मिनेटमा समाप्त हुनेछ । मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिने भएको छ । यस बेला भूसतहको तापक्रम घटेर चिसो हुने भएको छ ।

नेपालको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने खगोलविद्हरुले बताएका छन् । बीपी कोइराला मोमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी विज्ञान संग्रहालय, विकास समितिका अनुसार पोखरामा विहान १० बजेर ५२ मिनेटमा, महेन्द्रनगरमा १० बजेर ५४ मिनेटमा, जनकपुरमा १० बजेर ५६ मिनेटमा र भद्रपुरमा ११ बजेर ५२ मिनेटमा सूर्यग्रहण सुरु हुने भएको छ ।

जनकपुरबाट ८२ प्रतिशत, पोखराबाट ८८ प्रतिशत, झापाको भद्रपुरबाट ८१ प्रतिशत र कन्चनपुरको महेन्द्रनगरबाट ९३ प्रतिशत सूर्य ढाकेको देखिने भएको छ । नेपालका लागि यो सूर्यग्रहण महत्वपूर्ण रहेको छ । अबको करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण नेपालमा देखिने भएको छ ।

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा सूर्य छेकिन गइ चन्द्रमाको छायाँ पृथ्वीमा पर्नु नै सूर्य ग्रहण हो । धर्मशास्त्रका अनुसार सूर्यग्रहण मेष राशि, सिंह राशि, कन्या राशि तथा मकर राशि भएका मानिसले मात्र हेर्न हुन्छ । सूर्यग्रहण नाङ्गो आँखाले हेर्नु हुँदैन ।