समाचार

स्कूल बन्द भएपनि विद्यालयले मागे शूल्क, सरकार मुकदर्शक

काठमाडौं । सरकारले लकडाउन अवधिभर कुनै पनि प्रकारको शूल्क नलिन विद्यालय सञ्चालकलाई निर्देशन दिएको छ । तर, त्यसविपरित विद्यालय संचालकहरुले भने लकडाउन अवधिको समेत शुल्क बुझाउन अभिभावकलाई दवाव दिएका छन् । आइतबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले शुल्क बुझाउन अभिभावकलाई आग्रह गरेका हुन् ।

उनीहरुले संयुक्र विज्ञप्ती जारी गर्दै २०७६ को बाँकी बक्यौता सम्भव भएसम्म चुक्ता गर्न र २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क भुक्तानी गर्न अभिभावकलाई आग्रह गरेका छन् । प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले विज्ञप्ती जारी गरेका हुन् । कोरोना भाइरसको महामारी शुरु भएपछि ११ चैतयता सबै विद्यालय बन्द छन् । सरकारले चैत महिनाको शुल्क नलिन विद्यालयहरूलाई निर्देशन दिइसकेको छ ।

यसबीचमा विद्यालयले अनलाइन कक्षा चलाएका छन् । उक्त अनलाइन कक्षाको समेत शुल्क लिन नपाइने सरकारको निर्देशन छ । तर, त्यसविपरित विद्यालय संचालकले भने अभिभावकसँग शूल्क मागेका हुन् । लकडाउनले गर्दा विद्यालयको आम्दानी शून्य भएको भन्दै यसले देशभर करिब दुई लाख शिक्षक कर्मचारीको जीवनयापन कठिन भएको उनीहरुको तर्क रहेको छ ।

सरकारले निजी विद्यालयलाई राहत प्याकेज नल्याएपछि विद्यार्थीसँग शुल्क उठाउनुको विकल्प नभएको समेत उनीहरुले बताएका छन् । यस सम्बन्धमा भने सरकारले कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन ।