समाचार

पाल्पामा भिषण पहिरो, ४ गाडी पुरिए, तीन जनाको शव फेला

बुटवल । पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारी भन्ने स्थानमा सोमबार भिषण पहिरो गएको छ । पहिरोले दुई वटा गाडी बगाएको थियो भने दुई गाडीमा क्षति पुर्याएको छ । दूर्घटनामा अहिलेसम्म ३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेका एउटा मिनी ट्रक र पानी बोक्ने ट्यांकर पहिरोले बगाएको छ ।

दूर्घटनामा तीन जना पुरुषको ज्यान गएको छ । तीनजना मध्ये दुईजनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

पहिरोले अगाडिको सडक अवरुद्ध भएपछि रोकिएर मिनी ट्रक र ट्यांकरमाथि पहिरो खसेको थियो । पहिरोले सडकमै रोकेको एउटा कार र कुखुरा बोक्ने जिपमा समेत क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । रातभर परेको पानीले यस स्थानमा पहिलो गएको थियो ।

सोहीकारण सवारी साधन रोकिएका थिए । त्यसै समय आएको पहिरोले ठूलो क्षति निम्त्याएको हो । घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालय पाल्पाबाट टोली खटिएको छ । प्रहरीले थप क्षतिको विवरण अझै सार्वजनिक गरेको छैन ।