स्वास्थ्य

काठमाडौं छिरेपछि १४ दिन होम क्वारेन्टिन

काठमाडौं । अब काठमाडौं उपत्यकाबाट छिर्ने सबै मानिस १४ दिन होम क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका भित्रनेलाई १४ दिन क्वारेन्टाइनमा राख्न गृहमन्त्रालयले सरोकारवालालाई परिपत्र गरेको हो । अहिले घरधनीले पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण नगरी घरमा छिर्न नदिएको भन्दै परीक्षण गराउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सर्वसाधारणको भीड बढेको छ ।

भीड व्यवस्थापन गर्न हम्मेहम्मे परेपछि सरकारले यस्तो नीति ल्याएको हो । पीसीआर टेष्ट गर्न भन्दै भीड बढेका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै उपत्यका बाहिरबाट आउनेलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिए मात्र अस्पताल आउने व्यवस्था गर्न गृहलाई अनुरोध गरेको थियो । गृहले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुलाई स्वास्थ्यको पत्रअनुसार निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अब बाहिर जिल्लाबाट काठमाडौं उपत्यकामा आएपछि १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्छ । डा. गौतमका अनुसार उपत्यका बाहिरबाट आउनेलाई घरबेटीले कोरोना परीक्षणको रिपोर्ट माग्ने गरेको प्रति समेत मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख छ ।

‘काठमाडौं उपत्यकामा उपत्यका बाहिरबाट भित्रिने घरडेरा गरी बस्ने मानिसहरुलाई केही घरभेटीहरुले कोभिड १९ को पीसीआर परीक्षण नगरी घरमा प्रवेश गर्न रोक लगाएको पाइएको उनले उल्लेख गरे ।

यस सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भीर ध्यानाकषर्ण भएको उनको भनाई छ । उनले उपत्यका बाहिरबाट काठमाडौं आउनेलाई कोरोना परीक्षणको दवाब नदिन समेत आग्रह गरे ।