फिचर

आज नेकपा स्थायी कमिटि बैठक, एमसीसीबारे निर्णय होला ?

फाइल तस्बिर

काठमाडौं । आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक बस्ने भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ । यसअघि मंगलबार राती अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अनौपचारिक छलफल भएको थियो । उक्त बैठकमा एमसीसी सम्झौता, सरकारका कामको समीक्षा, पार्टी कामको समीक्षा एवं संगठनात्मक एकीकरणलाई पूर्णता दिने जस्ता एजेण्डा तय गरेको छ ।

यी एजेण्डामा आज स्थायी कमिटि बैठकमा छलफल हने भएको छ । नेकपा भित्र एमसीसीलाई लिएर तिब्र विवाद छ । बहुमत सदस्य एमसीसीका केही प्रावधान संशोधन नगरी पारित गर्न नहुने पक्षमा छन् । नेकपा स्थायी कमिटीको बैठकले एमसीसी सम्झौताबारे सरकारलाई एक निर्णय दिनेछ ।

एमसीसी सम्झौता संसदले पारित गर्नुपर्ने म्याद असार १७ गते सकिँदै गर्दा अहिले छलफलले तिब्रता पाएको छ । उक्त दिन संसदले एमसीसी पास नगरे यसको म्याद थप्नु पर्छ । म्यादा थप भएन भने यो कार्यक्रम स्वतः निश्क्रिय हुन्छ । एमसीसी कार्यक्रममा अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान सहयोग दिने उल्लेख छ ।

बुधबारको नेकपा स्थायी कमिटी बैठकले गर्ने निर्णय नै निर्णायक हुनेछ । बैठकले दिने निर्देशन नेकपा संसदीय दलले मान्नुपर्छ । एमसीसीको पक्षमा एकमत नभएपछि सुझाव दिन भन्दै नेकपाले भलनाथ खनाल, भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको तीन सदस्यीय अध्ययन कार्यदल बनाएको थियो ।

कार्यदलको बहुमतले एमसीसी सम्झौता हुबहु पारित गर्न नमिल्ने मतसहितको प्रतिवेदन तयार पारेर पार्टी नेतृत्वलाई बुझाएको छ । विपक्षी दल कांग्रेस भने एमसीसीको पक्षमा रहेको छ ।