समाचार

न्युजर्सीस्थित पटेल परिवारका तिनै जना आफ्नै स्विमिङ पुलमा मृत फेला परे

एजेन्सी

अमेरिकाको न्युजर्सी राज्यको इष्ट ब्रन्सविकस्थित एक प्राईभेट घरको करेसा (ब्याक यार्ड) को स्विमिङ पुलमा एक नाबालक सहित तीन जना मृत फेला परेका छँन् । पटेल थर भएका एकै परिवारको घरमा घटेको उक्त घटनामा ८ बर्षीया बालिका ३२ बर्षीया आमा निषा पटेल र ६२ बर्षीय नातेदार भरत पटेल सोमबार अन्दाजी ४ बजे दिउँसो  स्विमिङ पुलमा मृत फेला परेको प्रहरीले जनाएको छ । सोमबार करिब ४ बजेर १५ मिनेट जाँदा छिमेकीले ९११ मा फोन गरेको प्रहरीले जनाएको छ । फोनबाट खबर आए पछि घटनास्थलमा प्रहरी पुग्दा तिनै जना जमिन माथि निर्माण गरिएको पौडी पोखरीमा अचेत अवस्थामा भेटिएको पनि प्रहरीले जनाएको छ । प्रहरीले अचेत तीनै जनालाई सि पि आर बिधि मार्फत बचाउने कोसिस गरे पनि प्रयास निरर्थक भएको थियो ।  

घटना घटेको घरबाट चिच्याएको आवाज सुने पछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । छिमेकीले सुनेको चिच्याएको आवाज मृतक ३२ बर्षीया आमाको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।  

ईस्ट ब्रन्सविकस्थित प्रहरी प्रमुख फ्र्यांक लोसाकोले बिज्ञप्तीमा भनेका छन्; “यो हाम्रो सिंगो समुदायको लागि बिनासकारी दिन हो । अहिले नै घटना कसरी घटेको हो भनेर भन्नु हतार हुने छ” । घटनाको अनुसन्धान भै रहेको मिडिलसेक्स काउन्टी अभियोजकको कार्यालयले जनाएको छ । डब्लु एन बि सि समाचारका अनुसार कतिपयले घटना बिद्युतीय लाईन गडबडीको कारण भएको हुन सक्न्ने अनुमान गरेका छन् । पटेल परिवार गत मेई महिनामा मात्र उक्त स्थानमा सरेको थियो ।