समाचार

रुकुम घटनाका २३ अभियुक्त पुर्पक्षका लागि कारागार चलान

रुकुम । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिका, सोती गाउँमा भएको नरसंहारमा आरोपित २३ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत रुकुमले जेठ १० मा ६ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्तमध्ये २३ जनालाई कारागार चलान गर्ने आदेश दिएको हो ।

वडाअध्यक्ष डम्बरबहादुर मल्लसहित २३ अभियुक्तलाई जिल्ला अदालतबाट पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश भएको हो । शुक्रबारदेखि शुरु भएको थुनछेक बहस बुधबार सकिएको हा । जिल्ला अदालतका न्यायाधीश विद्याराज पौडेलले यस्तो आदेश गरेका छन् ।

२ जनालाई १ लाख धरौटी र ३ जना अभियुक्तलाई साधारण तारेखमा छाड्न आदेश दिइएको छ । साधारण तारेखमा छुट्ने प्रतिवादीहरुमा इन्द्रबहादुर मल्ल, तुल बहादुर मल्ल र दिपेन्द्र चन्द छन्।

यसअघिको दुई जना नाबालक भने पुर्पक्षका लागि सुधारगृहमा पठाउने आदेश आएको थियो ।

अन्तरजातीय प्रेममा रहेका एक युवकले युवतीलाई भगाउन गाउँ गएका बेला गाउँलेले युवाको जमातलाई लखेट्ने क्रममा यो घटना भएको हो । घटनामा जाजरकोटका नवराज विकसहित ६ जनाको ज्यान गएको थियो ।