फिचर

मलेसिया रोजगारी खुलाउन आन्दोलनको चेतावनी

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीले मलेसियाको रोजगारी खुलाउन आन्दोलनको चेतावनी दिएका छन् । म्यानपावर व्यवसायीहरुले मलेसियाको रोजगारी एकसाता भित्र खुला नगरे धर्ना बस्ने चेतावनी दिएका हुन् ।

उनीहरुले सरकारलाई १२ असारसम्मको समयावधि दिँदै रोजगारी खुला गर्न आग्रह गरेका हुन् । नेपाल र मलेसियाबीच गत कात्तिकमा श्रम सम्झौता भएपनि अझै कामदार मलेसिया जान सकेका छैन ।

८ महिना बितिसक्दा पनि रोजगारी खुलाउन सरकारले पहल नगरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भनाई छ ।

आगामी १२ असार भित्र मलेसियामा रोजगारीका लागि श्रम स्वीकृति सूचारु नगरे बैदेशिक रोजगार विभागको कार्यालय अगाडी धर्ना बस्ने व्यवसायीले विज्ञप्ती जारी गर्दै बताएका छन् ।

श्रम मन्त्रालयले मलेसिया रोजगारीका नाममा ठगी गर्ने विभिन्न संघसंस्थामाथि कारवाही अगाडी बढाएपछि मलेसियाको रोजगारी अहिले बन्द छ । मलेसिया नेपालबाट धेरै कामदार जाने मुलुक हो ।

हावापानी पनि नेपालसँग मिल्दोजुल्दो भएकाले यहाँ धेरै नेपाली आकर्षित हुने गरेका छन् । तर, कमाईका दृष्टिकोणबाट भने मलेसिया अहिले आकर्षक मुलुक होइन । त्यसकारण यहाँ धेरै अदक्ष र अर्धदक्ष कामदार मात्र गइरहेका छन् ।