स्वास्थ्य

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, गण्डकीमा थपिए ११ संक्रमित

पोखरा । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचार गराइरहेका एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको हो । स्याङ्जा सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गतरात ११ः३५ मा निधन भएको अस्पतालले जनाएको छ ।

अब नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या २५ पुगेको छ । उनी असार ८ मा अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । उनी डायबिटिजका बिरामी रहेको समेत अस्पतालले जानकारी दिएको छ ।

पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गर्दागर्दै कोरोना संक्रमितको मृत्यु भएका स्याङ्जाका यी पुरुष दोस्रो व्यक्ति हुन् । यसअघि सोही अस्पतालमा स्याङ्जाकै ५८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो ।

उता गण्डकी प्रदेशमै बिहीबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जा, म्याग्दी, बाग्लुङ र नवलपुरमा नयाँ संक्रमित पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले उल्लेख गरेको छ । संक्रमण पुष्टि हुनेमा स्याङ्जाका एक जना, बागलुङका २ जना छन् ।

त्यस्तै, म्याग्दीका २० देखि ३२ वर्ष उमेर समूहका ६ जना पुरुष छन् । नवलपुरमा संक्रमण पुष्टि हुने २ जना छन् । गण्डकी प्रदेशभर बिहीबारसम्म ७ सय ५३ जनामा कोरोना पुष्टि भएको छ ।