समाचार

कोभिडसँगै विपद् व्यवस्थापनमा नेपाली सेनाको तत्परता

काठमाडौं । नेपाली सेनाले आफ्नो मातहतका सबै निकायलाई कोभिड १९ को रोकथाम तथा नियन्त्रणसँगै विपद् व्यवस्थापनमा समेत तयार रहन निर्देशन दिएको छ। सेनाले विपद् प्रतिकार्यको तयारी गर्न ‘अपरेसन अर्डर’ जारी गर्दै यस्तो निर्देशन दिएको हो । उपकरण सहितको न्यूनतम सामग्रीसहित खोज तथा उद्धार कार्यमा खटिन तयारी अवस्थामा रहन र ठूला उपकरण सम्भावित ठाउँहरूमा राख्न सैनिक जंगी अड्डाले मातहतका सबै निकायलाई निर्देशन दिएको हो ।

नेपाली सेनाले सबै सुरक्षा फौजलाई तैनाथी अवस्थामा रहन समेत निर्देशन दिएको हो । नेपालमा मनसुनको सिजन चलिरहेको छ । जसले गर्दा देशभर बाढी र पहिरोको जोखिम उत्तिकै रहन्छ । आपतकालिन अवस्थामा उद्दारमा नेपाली सेना अग्रपंक्तीमा खटिनुपर्छ । तर, कोभिड १९ को संक्रमणका कारण सेनाले अहिले जनशक्तिलाई यसको व्यवस्थापनमा समेत खटाउनु परेको छ ।

विपद् व्यवस्थापनका लागि परिचालन हुने अन्य सरोकारवाला निकायहरूसँग समन्वय र सम्पर्कको लागि गृह मन्त्रालयमा रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समन्वय गरिरहेको छ ।

विपद व्यवस्थापनका लागि चार चरणमा फौज परिचालन हुने भएको छ । प्रत्येक जिल्लामा तैनाथ गणबाट १ सय ४ जनाको टोली रहन्छ । गुल्म भएको स्थानमा ३० जनाको फौज आधारभूत उद्धार सामग्रीसहित परिचालन हुने गरि व्यवस्थापन मिलाएको नेपाली सेनाले जनाएको छ । अन्तिम अवस्थामा विपद् व्यवस्थापन निर्देशनालयका युनिट र १४ बाहिनी अन्तर्गतका युनिटबाट फौज परिचालन गर्ने रणनीति सेनाको छ ।