विश्व

उत्तर कोरिया भ्रमणमा निस्किए चिनियाँ राष्ट्रपति

चिनियाँ राष्ट्रपति सि चिनफिङ उत्तर कोरिया भ्रमणमा निस्किएका छन् । दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठ मनाउने क्रममा उनी उत्तर कोरियातर्फ लागेका हुन् ।

दुई दिने भ्रमण बिहीबार र शुक्रबार हुनेछ । अन्तरराष्ट्रिय संचारमाध्यमहरुका अनुसार राष्ट्रपति सि चिनफिङ बेइजिङबाट उत्तर कोरियाका लागि प्रस्थान गरेका छन् ।

झण्डै १४ वर्षपछि चीनबाट उत्तर कोरियामा सबैभन्दा उच्च स्तरको भ्रमण हुन लागेको हो । चीन र उत्तर कोरियाले सन् २०१९ लाई कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ वर्षका रुपमा मनाइरहेका छन् ।

यी दुई मुलुकको बढ्दो सम्बन्धले विश्वका अन्य शक्तिशाली देशलाई पनि प्रभाव पार्छ । राष्ट्रपति सि चिनफिङ कै अग्रसरतामा पछिल्लो समय अमेरिका र उत्तर कोरियाबीच संवादको वातावरण बनेको छ ।

अमेरिका र उत्तर कोरियाली राष्ट्रपतिबीच दुई पटक भेटवार्ता भइसकेको छ भने अब तेस्रो चरणको वार्ताको तयारी समेत भइरहेको छ ।

यस अवस्थामा चिनियाँ राष्ट्रपतिको उत्तर कोरिया भ्रमणलाई निकै चासोका साथ हेर्ने गरिएको छ ।
एजेन्सी