समाचार

अमेरिकामा २ करोड भन्दा धेरै मानिस कोरोना संक्रमित भै सकेको हुन सक्ने सिडिसिको खुलासा

न्युयोर्क

अमेरिकामा अधिकारिक रुपमा बाहिर आएको कोरोना संक्रमितको संख्या भन्दा १० गुणा बढी मानिस संक्रमित भएको हुन सक्ने कुरा सिडिसि (सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन) ले जनाएको छ । सिडिसिको नयाँ अनुमान अनुसार अमेरिकामा बास्तबिक कोरोना संक्रमितको संख्या दुई करोड माथि  हुन सक्ने बताईएको हो । सिडिसिका डाईरेक्टर डक्टर रोबर्ट रेडफिल्डले पत्रकारहरुसँगको फोन बार्तामा भनेका छन्; “हाम्रो सबैभन्दा उत्कृष्ट अनुमान भनेको अमेरिकामा अहिले हरेक १० जना संक्रमित पछि मात्र १ जना जाँचेर कोरोना पोजेटिभ भएको थाहा हुन आएको अवस्था छ “। डा रेडफिल्डले बाँकी ९ जना कोरोना संक्रमित भएर पनि जाँच नगरेका कारण वा उनिहरुलाई आफु संक्रमित छु भन्ने थाहा नभएका कारण आधिकारिक तथ्यांकमा नदेखिएको भनेका हुन् । सिडिसिले गरेको कोरोना संक्रमितको यति ठुलो संख्याको अनुमान हाल अमेरिका भर जारी ‘एण्टी बडी’ जाँच पछि आएको हो । अमेरिकाभर गरिएको एण्टी बडी टेष्टमा औसत १० जनामा एण्टी बडी पोजेटिभ देखिए पछि मात्र एक जना कोरोना संक्रमित देखिने गरिएको डा रेडफिल्डले बताएका छन् । कोरोना संक्रमित निको भएपछि उस्को रगतमा एण्टी बडी पोजेटिभ देखिने गर्दछ ।

अमेरिकामा अहिले २३ लाख मानिस  कोरोना संक्रमित भएको अधिकारिक तथ्यांक छ भने सिडिसिले त्यो संख्या २ करोड माथि वा अमेरिकाको ५ देखि ८ प्रतिशत जनसंख्या संक्रमित भै सकेको हुन सक्न्ने अनुमान गरेको हो । डा रेडफिल्डले भनेका छन्; ‘भाईरसले धेरै जसो समय कुनै पनि लक्षण देखाँउदैन’।  सिडिसिको यो नयाँ अनुमान हाल केही दिनदेखि लगातार रुपमा दक्षिणपूर्वी तथा पश्चिम क्षेत्रका राज्यहरुमा बढेको संक्रमित त्यसमा पनि बिशेषगरी २० बर्षदेखि ३० बर्ष उमेर समुहका युवा-युवतीमा देखिएको अत्याधिक संक्रमण पछि आएको हो ।  

समाचार श्रोत : वासिङ्टन पोष्ट