विज्ञान प्रविधि

आधिकारिक एप्स र सामाजिक सञ्जाल मात्र प्रयोग गर्न सरकारलाई समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले सरकारलाई आधिकारिक तथा मान्यता प्राप्त एप्स र सामाजिक संजाल मात्र प्रयोग गर्न निर्देशन दिएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समतिले नियमनकारी निकायले पुष्टि गरेको एप्स र सामाजिक सञ्जाल मात्र प्रयोग गर्न सरकारलाई निर्देशन दिएको हो ।

यसअघि केही दिन अगाडी जुम एप प्रयोग गरी कार्यक्रम गर्दा पर्यटन मन्त्री सहभागी कार्यक्रममा अश्लिल भिडियो देखाइएको थियो । नेपालमा अनाधिकृत रुपमा विभिन्न एप्स र सामाजिक सञ्जाल डाउनलोड र प्रयोग गरिएका कारण साइबर अपराध बढेको समेत समितिको निश्कर्ष छ ।

समितिले शुक्रबार साइबर अपराध र सुरक्षाबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल प्रहरीको साइबर ब्यूरो, राष्ट्रिय सूचना प्रविधि केन्द्रका पदाधिकारीसँग छलफल गरेको हो ।

त्यसपछि समितिले सरकारलाई नेपालभित्र प्रयोग गरिने एप्स तथा सामाजिक सञ्जालहरु सुरक्षा, गोपनीयता र उपयोगिताका हिसाबले उपयुक्त रहेको नियमनकारी निकायले पुष्टि गरेपछि मात्रै डाउनलोड वा प्रयोग गर्न पाइने व्यवस्था मिलाउन निर्र्देशन दिएको हो ।

पर्यटन मन्त्री योगेश भट्टराईले मन्तव्य दिँदा अश्लिील भिडियो देखिनुले नेपालको साइबर सुरक्षामाथि प्रश्न उठेको विकास समितिको भनाई छ ।

सरकारी वेवसाइट र सूचना प्रविधि सेवा प्रदायक कम्पनीहरुको अनिवार्य सेक्युरिटी अडिट गर्ने व्यवस्था मिलाउन समेत समितिले निर्देशन दिएको छ ।