स्वास्थ्य

कोरोना लगातार बढेपछि टेक्सास र फ्लोरिडाका मदिरा बारहरु पुन: बन्द गरियो; एरिजोनामा स्टे होम अर्डर

अमेरिकाको टेक्सास र फ्लोरिडा राज्यमा संक्रमितको संख्यामा र अस्पताल भर्ना हुनेको संख्यामा नाटकीय बृद्धि भएपछि ३ महिना भित्र पुन: दोश्रो पटक मदिराका बारहरु बन्द गरिने भएको छ भने एरिजोना राज्यबासीलाई ‘स्टे एट होम’ आदेश गरिएको छ । टेक्सास गभर्नर ग्रेग एबोटले टेक्सासका मदिरा बारहरुलाई शुक्रबार दिउँसोबाट बन्द गर्न आदेश गरेका छन् । फ्लोरिडामा भने डिपार्टमेण्ट अफ बिजिनेस एन्ड प्रोफेसनल रेगुलेसनले उक्त क्षेत्रमा तत्काल लागू  हुने गरी मदिरा बितरण रोक्न भनेको छ ।  टेक्सास र फ्लोरिडा दुबै राज्यले महामारी सुरु भएर बन्द गरिएको अवस्थामा सबैभन्दा छिटो लकडाउन खोलेर अमेरिकामा नै लकडाउन खोल्ने पहिलो राज्य बनेका थिए । टेक्सासमा भने गभर्नर एबोटले गत मे महिनामा नै मदिरा बारहरु खुल्ला गरी सामाजिक दुरीको नियमलाई कडाईका साथ लागू गरेका थिएनन् । टेक्सासमा संक्रमित र अस्पताल भर्ना हुनेको संख्यामा नाटकीय बृद्धि भएपछि पुन: भिडभाडमा कडाई गर्न थालिएको हो । टेक्सासका रेस्टुरेन्टमा बसेर खानको लागि रेस्टुरेन्टको क्षमतामा ५० प्रतिशत घटाउन भनिएको छ भने राज्यका चर्चित खोलाहरुमा र्याफ्टिङ तथा ट्युबिङ्हरु समेत बन्द गरिएको छ । सय जना वा त्यो भन्दा धेरैको जमघटको लागि स्थानीय सरकारबाट स्वीकृति लिनु पर्ने निर्णय गरिएको छ । एरिजोनामा गभर्नर डग ड्युसीले बिहीवार राज्यबासीलाई घर भित्रै बस्न भनेका छन् ।

फ्लोरिडामा दैनिक ९ हजारको संख्यामा संक्रमित थपिन थालेको र थपिएका संक्रमितमा पनि अधिकांश संक्रमित युवा जमात जो मदिरा बार र रेस्टुरेन्टमा जान्छन्,  त्यो समुहबाट संक्रमण फैलिन थालेपछि मदिरा बिक्रि बितरणको नियामक संस्थाले तत्काल बारबाट मदिरा बिक्री गर्न रोक लगाएको छ । अमेरिकामा बिहीवार मात्र ४० हजार संक्रमित थपिए भने मृतकको संख्या १ लाख २५ हजार पुगेको छ। 

एजेन्सी