समाचार

कस्तो आयो काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६\७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

महानगरपालिकाले सम्पदा निर्माण निर्माणदेखि पर्यटन प्रवद्र्धनसम्मका योजना समेटएको नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ ।

मेयर विद्या सुन्दर शाक्यले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । महानगरले आगामी आवमा काठमाडौंलाई प्लाष्टिक, धुलो र प्रदुषण मुक्त बनाउने घोषणा गरेको छ ।

आफ्नो क्षेत्रमा भित्रने सवारी साधन नाकामा धोएर मात्रै प्रवेश दिने कार्यक्रम राखिएको छ । त्यसो त सरकारले संघीय बजेटमा पनि यो कार्यक्रमलाई प्राथमिकताका साथ राखेको थियो ।

काठमाडौं उपत्यकाभित्र छिर्ने सवारीलाई धुने गरी नाकामा भेहिकल क्लिनिङ सेन्टर निर्माण गरिने र त्यसका लागि स्थानीय तहहरुसँग समन्वय गरिने महानगरले उल्लेख गरेको छ ।

काडमाडौंमा सार्वजनिक यातायात सहज बनाउन ठुला विद्युतीय सवारी साधनलाई प्रोत्साहित गर्ने महानगरको नीति छ ।

काठमाडौंलाई नो मास्क सीटीका रुपमा विकास गरी धुलो र प्रदुषणबाट मुक्त बनाउने घोषणा पनि महानगरले गरेको छ ।

आगामी आर्थिक वर्षदेखि वघरबहाल सम्झौता गरेर मात्र घरमा बस्न पाउने व्यवस्थाको तयारी पनि महानगरले गरेको छ । महानगरको नीतिमा सम्पदा संरक्षण र पूर्वाधार निर्माणका समेत अनेक योजना समेटिएका छन् ।

महानगरले मोनोरेल सञ्चालन गर्ने गरी योजना समेटिएको छ । हनुमानढोकादेखि स्वयम्भूसम्म पुरातात्विक सम्पदा पदमार्ग तथा पशुपतिनाथदेखि बौद्धस्तुपासम्म भने हरित सम्पदा पदमार्ग निर्माण गरि कार्यान्वयनमा ल्याउने महानगरको योजना रहेको छ ।